प्रधानमन्त्रीले भूमिमा क्रान्तिकारी निर्णय गर्ने

प्रधानमन्त्रीले भूमिमा क्रान्तिकारी निर्णय गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिसम्बन्धी विद्यमान समस्या हल गर्न टालटुले निर्णयले सम्भव नहुने बताउनुभएको छ । वर्षौँंदेखि थाँती रहेका भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सरकार क्रान्तिकारी निर्णयको तयारीमा रहेको पनि उहाँको भनाई छ । 

राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन पनि दिनुभयो । 

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ । यसपटक मैले मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी केही क्रान्तिकारी निर्णय लिने सोच बनाएको छु । पटक–पटक उही समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भूमरीमा पर्नुहुँदैन । हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ ।'

प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, 'धेरै वर्षदेखि हामी एउटै समस्यामा अल्झिरहेका छौँ । अब यसलाई सदाका लागि समाधान गर्नुपर्छ ।' 

 गाँस र बास जनताको पहिलो आवश्यकता भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई गम्भीरताका साथ बुझेर काम गर्न आग्रह पनि गर्नुभयो । 'नीतिगत रूपमा गर्नुपर्ने काम  सरकारले गर्छ । यसपटक यो समस्या सदाका लागि सम्बोधन गर्नैपर्छ', उहाँले भन्नुभयो । 

भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कालगायत आयोगका पदाधिकारीको उपस्थिति थियो ।

टिप्पणीहरू