पहिचानवादीहरुको आरोप : केपी ओली नश्लवादी नेतृत्वको नायक, आजको घटना त्यसैको उपज
कोशी प्रदेश नामांकनविरुद्ध आन्दोलन चर्काइरहेको ‘प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले एमाले अध्यक्ष केपी शर्मा ओली आफूहरुको आन्दोलनलाई उछाल्ने बदनियतका साथ झापा आएको आरोप लगाएको छ ।
आज गृहजिल्ला झापा पुग्नुभएका ओलीमाथि पहिचानवादी समूहले आक्रमणको प्रयास गरेको भन्ने प्रचारको खण्डन गर्दै समितिले शान्तिपूर्ण विरोध प्रदर्शनमा घुसपैठ भएको दाबी गरेको छ । ओलीकै अगुवाई र निर्देशनमा कोशी नामांकन भएकाले उनी सहभागी कार्यक्रममा आफूहरुले शान्तिपूर्ण तवरले विरोध प्रदर्शन गर्न खोज्दा सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेको समितिको आरोप छ ।
‘शासक जातीय एकल नश्लवादी गोत्रीय ‘कोशी’ प्रदेश नामविरुद्ध निरन्तर आन्दोलन चलिरहेको अवस्थामा आन्दोलनलाई उछाल्ने वदनियतका साथ ‘कोशी’ प्रदेश नाम राख्न निर्देशन दिने मूल नेतृत्व एमालेका अध्यक्ष खड्गप्रसाद ओली झापाको बुद्धशान्तिमा आयोजित कार्यक्रममा पुग्दा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्ने क्रममा ’प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ को घटक पार्टी संघीय लिम्बुवान पार्टीका केन्द्रीय उपाध्यक्ष तथा नायक मित्र लिङ्ग्देनलाई प्रहरीले धरपकड गरेको घटनाप्रति घोर भत्र्सना गर्दछौँ’, समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा संघर्ष समितिका बुद्धशान्ति संयोजक बुलेट राईलाई झूठा आरोप लगाउँदै प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा राखेको भन्दै तत्काल रिहाईको माग गरिएको छ ।
टिप्पणीहरू