ललितपुर महानगरपालिका १, कुपण्डोलस्थित समिट होटल भत्काएर नयाँ लक्जरियस अपार्टमेण्ट होटल निर्माणको क्रममा स्थानीयको आधा दर्जन घर क्षतिग्रस्त हुने गरी चौधरीसँग मिलेर आफ्नै मतदातामाथि अत्याचार थोपर्नेहरुको पर्दाफास भएको छ ।
डलर अर्बपति विनोद चौधरीको ३० प्रतिशत र युनिलिभर नेपालका साझेदार तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलगायतको स्वामित्वमा बनाउन लागिएको अपार्टमेण्टको नक्सा निर्माण क्रममै विवाद थियो । मापदण्ड संशोधन गरेर सहरी विकास मन्त्रालयबाट गत जेठमा उक्त काम तमाम गरेका चौधरीलगायतको समूहले स्थानीय महानगरपालिका र प्रादेशिक वातावरण मन्त्रालयलाई बाहिर राखेर स्थानीय वडाध्यक्षको मिलेमतोमा भवनको जग खन्ने कार्य (पाइलिङ फाउण्डेसन) गराएको तथ्य खुलेको छ । गत वर्ष बैशाखमा कांग्रेसको बागी उम्मेदवार उठेर पुतली चिह्न लिएका १ नम्बर वडाध्यक्ष निर्मल तण्डुकार, चौधरी र रविभक्तको साँठगाँठमा महानगरबाट नक्सा पारित र निर्माण थालनीको अनुमति नै नलिई काम थालिएको पुष्टि भएको छ ।
गत असारमा तण्डुकारको पहल र रोहबरमा स्थानीयलाई नेपाली कागजमा ल्याप्चे लगाएर भवन निर्माणको निम्ति पाइलिङ गराउने, अपार्टमेण्टले स्थानीयलाई बाटो फराकिलो बनाइदिने र निर्माणको क्रममा क्षति भएमा दुबै पक्षले व्यहोर्ने कागज गराएको पाइएको हो । ‘वडाध्यक्षको रोहबरमा गत असारमा पाइलिङलगायत सबै निर्माणको काम थाल्ने भनेर वडाध्यक्ष १ को रोहबरमा नेपाली कागजमा ल्याप्चे लगाएर भित्रभित्रै काम तमाम गरेको पाइयो,’ ललितपुुर महानगरलाई उद्धृत गर्दै काठमाडौं उपत्यका विकास प्राधिकरणको उच्च स्रोतले बतायो । त्यसरी नियमविपरीत चौधरीको योजनामा बनाइएको लिखतमा रौतहटनिवासी नागरिकता नम्बर २५८० का राजेन्द्रकुमार थापाले समिट अपार्टमेण्टको तर्फबाट ल्याप्चे लगाएका छन् । दोस्रो पक्ष अर्थात् स्थानीयको तर्फबाट हरि तण्डुकार, ऋगध्वज बिष्ट, रामचन्द्र देवकोटाले दस्तखत गरेको देखिन्छ ।
वडाध्यक्ष निर्मल तण्डुकारको रोहबरमा बनेको लिखतको शर्त नम्बर (२) मा भनिएको छ : ‘शर्त नम्बर १ बमोजिम प्रथम पक्षले दोस्रो पक्षलाई उपलब्ध गराएको सुविधाबापत ललितपुर १ स्थित प्रथम पक्षले निर्माण गर्दा दोस्रो पक्षले प्रथम पक्षलाई प्रोटेक्सन पाइलिङ (मेन फाउण्डेसन) लगायतको आवश्यक कार्य गर्न दिन मञ्जुर गर्दछ । प्रोटेक्सन पाइलिङ मञ्जुरी दिए पनि प्रथम पक्षको निर्माण कार्यको कारण दोस्रो पक्षको घर क्षति पुगेमा कानुनबमोजिम पहिलो पक्षले क्षति दिन बाध्य हुनेछ ।’ यसरी लेखिएको विवरणको सिरान र पुछारमा अहिले घर भत्केका विष्टले पनि आँखा चिम्लेर सही ठोकेका छन् । चौधरी र तण्डुकारको चास्नीमा डुबेर समिट होटलछेउ कफी खाँदै बनाइएको कागजमा सही ठोक्ने उनैको घर पनि अहिले भत्केको छ । उनी पीडितमध्ये सबैभन्दा धेरै र चर्को बोल्नेमा पर्छन् । विष्टको दोहोरो चरित्रबारे अर्का स्थानीयले भने, ‘काजीले के खाएर सही धस्काएछन् ऊ बेलामा । अहिले आफू डुबे, अरुलाई पनि डुबाए ।
वडाध्यक्ष तण्डुकार साँच्चिकै बागी रहेछन्, ऊ बेला कांग्रेसको, अहिले स्थानीयको ।’ यता चौधरी, श्रेष्ठ र वडाध्यक्ष तण्डुकारको मिलेमतोमा भएको गम्भीर खेलविरुद्ध अख्तियारमा उजुरी परेको बताइन्छ । वडाध्यक्षले चौधरीसँग मिलेर कोशेली खाएको आशंकासहित स्थानीयले उजुर हालेका हुन् । बैशाखमा पुतली चिह्न लिएर चुनाव जितेपछि पहिलो काम नै चौधरीको गरेको उनीहरूले भर्खर पत्ता लगाएका छन् । वडाध्यक्षले अर्बपतिको प्रलोभनमा गरेको कीर्ते कागजबारे जनआस्थाले सोधेको जिज्ञासामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले भने, ‘कुनै हालतमा काम रोकिन्छ । पाइल फाउण्डेसन भनेको ठूला भवन निर्माणको मुख्य काम हो । वडाध्यक्षले त्यो काम गर्न दिने भन्ने कानुनतः मिल्दैन र हुँदैन । भवन सुरक्षा र निर्माणको मुख्य काममा भएको गलत अभ्यासमा महानगर सहमत हुन सक्दैन ।’ अपार्टमेण्ट काण्डमा महानगरका कर्मचारी पनि सतप्रतिशत चोखो पाइएको छैन । यस्तो बदमासीमा महानगरका जाँचकीहरूको पनि ठूलो भूमिका देखिएको छ ।
चौथो तहका जाँचकी कर्मचारीले समिटका मालिकहरूसँग खानपिन गर्दै, गोजी भर्दै पुल्चोक फर्केको रहस्य पनि खुलेको छ । समिटको निर्माणस्थल जाँच गर्न गएका जाँचकी बाबुराजा महर्जन हुन् । महानगरमा त्यस्ता जाँचकी चार जना छन् । ती सबै ‘बिटुलो’ भइसकेको स्थानीयको बुझाइ छ । महानगरले जाँच्न पठाएको चिठी बोकेर गएका महर्जनले गत असारमा समिटमा बसेर खानपिन गरी चिठीनै नबुझाई आएको तथ्य पनि अहिले खुलेको छ । उनीहरूको सोही रवैयालाई ध्यानमा राखेर अस्तिदेखि जाँचकीको अधिकार कटौती गरेर नगर प्रहरीलाई जिम्मेवारी दिइएको छ । महानगरको उच्च स्रोतले भन्यो, ‘असारमा महानगरबाट निर्माण तयारीसम्बन्धी जाँचबुझको चिठी गएपछि वडाध्यक्षको पहलमा रातारात काम भएको पाइयो । नगरका जाँचकी, स्थानीय विष्टलगायतले चौधरीलाई गुन लगाएको देखियो ।’