तिम्रो जागिर तिमीलाई नै उपहार, अर्बाैं नाफा एक्लै खाने विनोद चौधरीको अनुहार

तिम्रो जागिर तिमीलाई नै उपहार, अर्बाैं नाफा एक्लै खाने विनोद चौधरीको अनुहार

डलर अर्बपति विनोद चौधरीको प्रमुख लगानी रहेको नबिल बैंकले वार्षिक अर्बाैं नाफा गर्दै आएको छ । गत आर्थिक वर्षमात्र उसले ४ अर्ब ९७ करोड चोखो जोगाएको थियो । जसमध्ये विनोदले विभिन्न नाममा बर्सेनि डलर बंगलादेशको राजधानी ढाका पु¥याउँदै आएका छन् । छोरा निर्वाणलाई नियमविपरीत बैंकको उपाध्यक्ष बनाइएको छ । केन्द्रीय बैंकका अधिकांश निर्देशनलाई बैंकको उच्च प्रशासनले चौधरीको निर्देशनमा धोती लगाउँदै आएको उच्चपदस्थ अधिकारीहरू नै स्विकार्छन् तर बोल्न सक्दैनन् । 

प्रमुख कार्यकारी अधिकृतले वार्षिक औसत साढे २ करोड बुझ्ने गरेका छन् । पहिलेका सिईओले ०७८÷७९ मा २ करोड ४५ लाख २ हजार तलब, भत्ता थापेका थिए । अहिलेका सिईओले कति कबोल गरे थाहा छैन । ठूलाबडा अरु कर्मचारीको पनि लाखौं तलब, भत्ता र सुविधा छ तर हाड छाला घोटेर दिनहुँ रगडिँदै आएका तल्लो तहका कर्मचारीको सेवा–सुविधामा भने व्यापक कटौती गरिएको छ । बिहान ९ बजेदेखि राति ८ बजेसम्म खच्चरले झैँ टाउको नउठाई काम गर्ने तल्ला तहका कर्मचारीको तलब एकाएक दुई तिहाइले घटाइएको छ ।

बजारमा निजी क्षेत्रका कर्मचारीबीच नबिल बैंकको ‘क्रेज’ बारे उत्पात हल्ला छ । चौधरीको निगरानी, उनका जेठा छोराको खटनपटन, अर्बाैं मुनाफालाई हेरेर उनीहरूले त्यस्तो अड्कल लगाएका हुन् । तर, अहिले कनिष्ठ सहायक स्थायी कर्मचारीकै तलब चोखो २० हजार तोकिएपछि कर्मचारी रिसले आगो बनेका छन् । त्यहाँ रहेको कर्मचारी संघले तलबवृद्धिको माग उठाउँदा व्यवस्थापनले ८ सयसम्म दिन सकिने भनेको छ । 

चौधरीका जेठा छोरा तथा सञ्चालक समितिका डिफ्याक्टो अध्यक्ष निर्वाण, सिईओ ज्ञानेन्द्र ढुंगानालगायतको मिलेमतोमा कर्मचारीले खाइपाइ आएको सुविधामा घाँटी निमोठिएपछि संघले श्रम कार्यालय गुहारेको छ । यसअघि व्यवस्थापनसँग भएको सहमति कार्यान्वयनको निम्ति अस्ति आइतबार सामूहिक सौदाबाजीको पहल गरिदिन आग्रह गर्दै लिखित निवेदन चढाइएको छ । सँगसँगै कर्मचारी संघले सामाजिक सञ्जालमार्फत बैंकभित्र विकसित हुने आगामी घटनाबारे सुसूचित गराइने पूर्वजानकारी पनि दिएको छ ।

आफ्नो मिहिनेतबाट आर्जित अर्बौं नाफा लगानीकर्ताको नाममा चौधरी र उच्च तहका कर्मचारीले जगन्नाथ गरेपछि कर्मचारी रुष्ट बनेका हुन् । संघका एक कर्मचारीले भने, ‘यहाँ मात्र होइन, चौधरीको लगानी भएको सबै ठाउँमा काम गर्ने कालु, मकै खाने भालुको उक्ति चरितार्थ भएको छ । बाँसबारीस्थित चाँदबाग स्कुलमा विद्यार्थीले प्रतिमहिना न्यूनतम ३५ हजार बुझाउँछन् । तर सोही विद्यालयका शिक्षक, शिक्षिकालाई २४ हजार ५ सयमा लदाइएको छ । उनीहरूले पनि नबिल बैंकको तल्लो तहका कर्मचारीझैँ १२ घण्टा काम गर्छन् ।’

यसैबीच, नबिल बैंकले कर्मचारीको सेवा–सुविधामा पनपच्छे गरेको थाहा पाएपछि केही दिनअघि नियुक्ति लिन पुगेका सात जना उम्मेदवारले हाकिमकै अगाडि नियुक्ति पत्र च्यातेर फालिदिएका छन् । एचआर डिपार्टमेण्टमा नियुक्ति लिएपछि कनिष्ठ सहायकहरूलाई तलब २० हजार लेखिएको पत्र थमाइएको थियो । जबकि दुई वर्ष अघिसम्म उनीहरूसरहका कर्मचारीको तलब ५० हजार थियो । गत वर्ष ४० हजार र अहिले २० हजार रुपैयाँमा झारेपछि दंग पर्दै गएकाहरूले हाकिमकै अघिल्तिर नियुक्ति पत्र धरधरी च्यातेर टेबुलमा फालिदिएका हुन् । नबिलले दुई महिनाअघि दुई सय जना कर्मचारी माग्दा तलब भत्ताबारे केही पनि खुलाएको थिएन । तर, लिखित र अन्तर्वार्तामा पास भएपछि अफर लेटर बुझ्न गएका उनीहरूले चरम श्रमशोषण भन्दै विरोध जनाएका छन् । नयाँ कर्मचारीले नियुक्ति पत्र च्यातेकोबारे स्वयं सिईओ ढुंगानाले बैंकका उच्च कर्मचारीको भेलामा सुनाएका थिए ।

बैंकमा एक वर्षअघि पनि जाँचमा उत्तीर्ण कर्मचारीलाई नियुक्तिपत्र लिन बोलाइयो र एचआर डिमार्टमेण्टले ओरिएन्टेसन क्लास राख्यो । सोही क्लासमा तलब भत्ताको कुरो उठ्दा नयाँ कर्मचारी खुशी हुँदै, फोटो र भिडियो खिच्न व्यस्त भएका थिए । 

तर, एकछिनपछि दिइएको अफर लेटर पढ्नासाथ छानाबाट खसेझैँ भए । ओरिएन्टेसनमा एक जना अधिकृतले सार्वजनिक रुपमा बोलेभन्दा पत्रमा ५ हजार रुपैयाँ कम लेखिएको थियो । पछि त्यही भिडियोलाई आधार मानेर कर्मचारीले अदालतमा मुद्दा दर्ता गरे । अहिले पनि मुद्दा विचाराधीन छ । सेवा विनियमावली तर्जुमामा पनि व्यवस्थापनले एकोहोरो पेलपाल गरेपछि कर्मचारीले मुद्दा हालेर अन्तरिम आदेश ल्याएका थिए । अहिले त्यो मुद्दासमेत सर्वोच्च अदालतले टुंग्याएको छैन । यी सबै विषयमा हिजो बेलुकी डिसिईओसँग संघले वार्ता गरेको थियो तर परिणाम ननिस्किएको स्रोतको दाबी छ ।

 

टिप्पणीहरू