गठबन्धनलाई भोट माग्दै विदेशमा रहेका कांग्रेसीद्धारा संयुक्त अपिल

गठबन्धनलाई भोट माग्दै विदेशमा रहेका कांग्रेसीद्धारा संयुक्त अपिल

विश्वका विभिन्न देशमा रहेका नेपाली कांग्रेस समर्थितहरुले आउँदो वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा कांग्रेसलाई भोट हाल्न आह्वान गरेका छन् । 

विदेशस्थित कांग्रेसको भातृ संस्था जनसम्पर्क समितिहरुले आज संयुक्त वक्तव्य निकालेर उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका हुन् । आज राति १२ बजेदेखि निर्वाचनको मौन अवधि शुरु हुनुपूर्व ३४ देशमा रहेका जनसम्पर्क समितिले संयुक्त अपिल जारी गर्दै काँग्रेस र गठबन्धनको पक्षमा भोट मागेका हुन् । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराई र चितवन निर्वाचन क्षेत्र नम्बर २ का जीतनारायण श्रेष्ठलाई भारी मतले जिताउन जनसम्पर्क समितिहरुले आग्रह गरेका छन् । त्यस्तै, सत्तारुढ गठबन्धनबाट बारा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि जिताउन विदेशमा बस्ने काँग्रेसीहरुको अपिल छ । 

मुलुकको विकास, समृद्धि र समुन्नतिका लागि कांग्रेसका उम्मेदवारले जित्नु अत्यन्तै आवश्यक रहेको उनीहरुको दावी छ । संयुक्त वक्तव्यमा भनिएको छ,‘विश्वभरका जनसम्पर्क समितिहरुको तर्फबाट हामी उपनिर्वाचन हुँदै गरेको तनहुँ १ मा गोविन्द भट्टराई, चितवन २ मा जीतनारायण श्रेष्ठ र बारा २ मा उपेन्द्र यादवलाई मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउनुहुन सम्बन्धित सबै मतदाताहरु समक्ष हार्दिक अपिलसहित विनम्र अनुरोध गर्दछौं ।

’नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वआमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले वैशाख १० गते हुने उपनिर्वाचनलाई देशबाहिर रहेर पनि महत्त्व र चासोका साथ हेरिरहेको बताए । 'आसन्न उपनिर्वाचनमा आफ्ना परिवारजन, इष्टमित्र, साथीभाइ र शुभेच्छुकमार्फत कांग्रेस र गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न चाहन्छौं,' उनले भने । नेपालमा ठूला राजनीतिक परिवर्तन र विकास निर्माणका काममा कांग्रेसले नै नेतृत्व गरेको बताउँदै उनले अहिले पनि मुलुकलाई कांग्रेसकै योजना आवश्यक रहेको बताए । 

'कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना र वर्तमान संविधान निर्माणको काम भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आजको राजनीतिक उपलब्धिको जग कांग्रेसको स्थापनाकालमै घोषित थियो। जनताको अधिकारका लागि कांग्रेसले स्थापनाकालमा नै आफ्नो संविधान आफैँ लेख्ने, आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनुपर्ने नीति घोषित रूपमा नै सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौं,' जारी वक्तव्यमा भनिएको छ ।

संयुक्त अपिल जारी गर्नेमा अमेरिकासहित विभिन्न मुलुकमा रहेका जनसम्पर्क समितिका सभापतिहरु रहेका छन् । अमेरिकाबाट विष्ट, भारतबाट बालकृष्ण पाण्डे, अष्ट्रेलियाबाट सुरेशसिंह गुरुङ्ग, आयरल्याण्डबाट अंकित ओली, बहराइनबाट पदमसुन्दर गुरुङ्ग, क्यानडाबाट बुद्धिप्रकाश ओली, साईप्रसबाट पुष्पा मिश्र, डेनमार्कबाट यादव बस्नेत छन् ।
 

टिप्पणीहरू