नौ पटक जिब्रो छेडेका बुद्धकृष्णले आराम गर्ने, छोरा सुजनले शुरु गर्ने

नौ पटक जिब्रो छेडेका बुद्धकृष्णले आराम गर्ने,  छोरा सुजनले शुरु गर्ने फाइल फाेटाे

आज भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइँदै छ । थिमीका २७ वर्षे सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने बताइएको छ । 

सुजनका पिता बुद्धकृष्ण बाग श्रेष्ठले यसअघि नौ पटक जिब्रो छेडिसकेका छन् । थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिले जात्राको तालिका सार्वजनिक गरेका छन् । जसअनुसार जिब्रो छेड्ने जात्रा मध्यान्ह १२ बजे सुरु हुँदैछ । 

जिब्रो छेडेपछि आजै सुजनलाई महादीप बोकाएर नगर परिक्रमा गराईंदैछ । महालक्ष्मी मन्दिरमा पुगेर जिब्रोमा गाडिएको सुइरो झिकेपछि यो वर्षको जात्रा सम्पन्न हुन्छ । जिब्रो छेड्ने जात्रा पनि भक्तपुरको बिस्का जात्राकै एक भाग हो ।

दिइएको विवरणअनुसार हालसम्म बोडेका १२ जनाले विगत १०८ वर्षदेखि जिब्रो छेड्दै आएका छन् । यसबीचमा कसैले ३२ पटक र कसैले २२ पटकसम्म जिब्रो छेडाएका थिए ।

आजै बोडेमा सिन्दुर जात्रा पनि मनाइँदैछ । सिन्दूर जात्रा बिहानैदेखि खेल्न थालिएको छ ।
 

टिप्पणीहरू