ढाकाको ढाकछोप गर्ने कि सबैको मुकुण्डो उतार्ने ?

ढाकाको ढाकछोप गर्ने कि सबैको मुकुण्डो उतार्ने ?

अहिले सामाजिक सञ्जालदेखि चिया चौतारीसम्म दुई विषयले तातेको छ । पहिलो– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईंबीच भएको ‘दुई करोड’ को टेलिफोन संवाद । दोस्रो–सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको फेसबुक स्टाटस । प्रसाईं र श्रेष्ठबीचको कुराकानी सामाजिक सञ्जालदेखि सञ्चारमाध्यामसम्म छ्यापछ्याप्ती छ । त्यसको धेरै कुरा गरिरहनै परेन । 

कुराकानी गर्ने दुई पात्र र प्रवृत्तिबारे पनि धेरै लेख्नुपर्ने के छ ? श्रेष्ठ र प्रसाईं जोडिएको ठाउँ कहाँ हो ? कसले हुर्काइरहेको ? कसले संरक्षण गरिरहेको छ ? किन संरक्षण गरिरहेको छ ? त्यो मुख्य कुरा हो । आइतबार सार्वजनिक अडियो संवाद पुस पहिलो साताको हो । यसबारे प्रसाईंले सुनाउनुपर्ने ठाउँमा सुनाएका रहेछन् । उनले अडियो सुनाएपछि पाएको जवाफ सामान्य रहेछ । ‘उनीहरू पनि कमाउन आएका हुन्, खानै आएका हुन् । कमाउन्, खाउन् भै गयो, अहिले केही नगर्नु ।’ प्रसाईं आफूलाई जसको आशीर्वाद छ भन्थे, त्यो ठाउँमा पुगेर अडियो सुनाउँदा आएको जवाफ पाएपछि केही समय चुप लागे । चार महिनापछि सार्वजनिक गर्नुको कारण के हो, त्यो पनि स्पष्ट नै छ । 

अब कुरा आयो, ढाकाकुमारको पार्टी र त्यो पार्टीको नेतृत्व । यसको बारेमा पनि धेरै कुरा गर्नु छैन । तर विषय आएपछि केही त स्मरण गराउनु नै पर्नेछ । ढाकाकुमारको विगत एक पटक फर्केर हेर्ने हो भने आर्थिक र मानवीय दुबै हिसावले गन्हाएकै मान्छे हुन् भन्नेमा कुनै द्विविधा रहेन । मानव स्वास्थ्य र पानी खुवाउने नाममा आर्थिक संकलन गरेर गोलमाल गर्नेलाई कसरी नेता, सांसद मान्ने ? सहकारीमा बचतकर्ताले रगत र पसिना बगाएर कमाएर बचत गरेको रकम अपचलन गर्नेलाई के भन्ने ? 

अब कुरा आयो ढाकाकुमारको पार्टीको । पार्टीको काम ढाकाले गरेको बदमासी ‘ढाकछोप’ गर्ने नै हो । तीन दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउन पार्टीको अनुशासन समितिलाई निर्देशन दिइएको छ । समितिले ल्याउने प्रतिवेदन ढाकालाई जोगाउने गरी नै आउनेछ । यसमा अहिले भन्न सकिन्छ । ढाकालाई कारबाही गर्नेगरी प्रतिवेदन आउँदा त धेरैको पर्दा उघारिन्छ नि ! त्यही डरले नै त हो राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाले भनेका पार्टी सभापति रवि लामिछानेको ‘कोर’ टिमको नाम सार्वजनिक नगरेको । रास्वपाले नाम सार्वजनिक नगरे पनि चिन्नेहरूले चिनिसकेका छन् । शंका गर्नेहरूले पनि गरिसकेका छन् । 

अब कुरो आयो पार्टी सभापति लामिछानेले बाराको चुनावी सभामा गरेको प्रतिबद्धताको । चुनावी सभामा गरेको प्रतिबद्धता कस्तो हुन्छ ? त्यो हेर्न त त्यो पार्टीले मंसिर ४ मा ल्याएको ‘वाचा’ पत्र हेरे भइहाल्यो नि ! पार्टीमा विवादित व्यक्ति नअटाउने अभिव्यक्ति दिने लामिछानेले आफूले ऐना हेरेका छन् कि छैनन् होला ? शालिकराम पुडासैनीको हत्यारा पत्ता लगाउने, निर्मला पन्तलाई न्याय दिने । यस्ता वाचा के भए ? एक पटक हेर्ने हो कि ? 

नागरिकता र राहदानीमा मुद्दा पर्दापर्दै मन्त्री हुन हुन्थ्यो कि हुन्नथ्यो ? सर्वोच्चको आदेशले पदमुक्त भइसक्दा पनि फेरि गृहमन्त्रीको लागि मरिहत्ते गर्न हुन्थ्यो कि हुन्नथ्यो ? एक पटक ठण्डा दिमागले सोच्ने हो कि ? विवादित व्यक्ति पार्टीमा रहन नसक्ने भनिरहँदा आफूचाहिँ नेतृत्वमा रहन मिल्छ कि मिल्दैन ? यी प्रश्नको जवाफ कसले र कहिले दिने ? 

अब एक पटक संघीय राजधानी काठमाडौं फर्कौं । काठमाडौं महानगरको कुरा गरौं । काठमाडौंमा बारबार चर्चामा आइरहने कुनै कुरा छ भने त्यो फोहोर नै हो । कुनै बेला काठमाडौंमा महिनौंसम्म फोहोर उठाइएको हुँदैन थियो । यस्तै त हो भनेर हल्का रूपमा लिन्थे नेताहरू । मन्त्रीहरू । अहिले अवस्था फरक छ । काठमाडौं महानगरपालिकाले देशको प्रमुख शासकीय कार्यालय सिंहदरबारको फोहोर शनिबारदेखि उठाएको छैन । यसले एक किसिमको तरंग ल्याएको छ । शनिबार बालेन्द्र साहले फेसबुकमा स्टाटस लेखे– ‘सिंहदरबारको फोहोर उठ्दैन ।’ फोहोर उठाइएन पनि ।

हुन त बालेन्द्रका विरोधी र उनलाई नजिकबाट चिन्नेहरू उनले शुक्रबार र शनिवार लेखेका स्टाटसहरू नपत्याउनु भन्छन् । बालेन्द्रको बानी, आदत, शैली र कुलतलाई समेत बुझेकाहरूले भनेका कुरा हुन् यी । संयोग पनि त्यस्तै हो कि शुक्रबार र शनिबार स्टाटस त्यस्तै आइरहेका हुन्छन् तर सोमबार बिहान आएको साहको स्टाटस भने मननयोग्य छ । दलहरू किन स्थानीय तहलाई अधिकार दिन चाहँदैनन् भन्ने प्रश्नको जवाफमा एक जना विज्ञ अफ दि रेकर्ड कुराकानीमा भन्दै थिए, ‘स्थानीय तहलाई अधिकार दिएपछि त उनीहरूको मुख बन्द हुन्छ, सत्तामा पुगेकाहरू आफ्नो दानापानी बन्द हुने काम किन गर्छन् र ?’ 

फेरि मेयर साहकै स्टाटसमा फर्कौं । उनी राजनीतिक घटनाक्रम, दलीय प्रवत्तिमा पनि तिखो टिप्पणी गर्छन् । वर्तमान राजनीति र यसको प्रवृत्तिप्रति रुष्ट देखिने उनले गत पुस १० गते एमाले र माओवादी लगायतका दलबीच बन्न लागेको समीकरणबारे छलफल चल्दै गर्दा फेसबुकबाटै अस्वाभाविक टिप्पणी गरे । नयाँ समीकरण लक्ष्यित उनको प्रश्न थियो, ‘देश के हो, व्यापार हो, खेल हो ?’ त्यसै दिन एमाले, माओवादी, राप्रपा, रास्वपालगायतका दलबीच गठबन्धन नै बनेपछि फेरि अर्को स्टाटस फुर्‍यो– ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीन वटै सरकारमा, हामी प्रजा सधँै सास्तीमा ।’ त्यसो त बालेनले त्यसको अघिल्लो दिन पुस ९ गते शनिबार राति ९ बजे हाराहारीमा फेसबुकमै गद्य शैलीमा लेखेका थिए, ‘नयाँ सांसदहरू, नयाँ गफाडी, उही पुरानो देश, उही पुराना व्यापारी ।’

फागुन १३ गते शनिबार दिउँसो बालेनले आफूलाई मेयरबाट हटाउन खोजिरहेको अभिव्यक्ति फेसबुकमा राखे । त्यसै दिन राति साढे ८ बजे अर्को स्टाटस आयो– ‘आई डन्ट गिभ अप ।’ फेसबुकमा अन्टसन्ट लेख्न नरोकिएका साहले शनिबार बिहानै अर्को स्टाटस लेखे– ‘देश सफा गर्नु परे नेताहरूलाई नै सिस्डोलमा डम्प गर्नुपर्छ ।’ 

सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो लेख्न मिल्छ ? व्यक्ति हत्याको धम्की दिन मिल्छ ? शनिबारै साहले भारत र चीनले बनाइदिएको सरकारको कुनै इज्जत नगर्ने अभिव्यक्ति पनि दिए । हरेक व्यक्तिको आफ्नै मर्यादा हुन्छ, सार्वजनिक पद धारण गरेको व्यक्ति फगत व्यक्ति मात्र होइन, संस्था हुन्छ र त्यसरी नै उसले आफ्नो मर्यादा जोगाएर राख्नुपर्छ । आफ्नो मर्यादाको ख्याल नगर्नेले अरु के गर्छ ?
 

टिप्पणीहरू