टोपबहादुर भन्ने बितिक्कै संसदमा समाजवादी र एमाले सांसदबीच जुहारी

टोपबहादुर भन्ने बितिक्कै संसदमा समाजवादी र एमाले सांसदबीच जुहारी

नक्कली शरणार्थी बनाएर करोडौँ कुम्ल्याउने गिरोहमा नाम जोडिएका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको विरोध र समर्थनमा संसद बैठकमा चर्काचर्की परेको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डेले टोपबहादुरमाथि छानबिन हुनुपर्ने धारणा राखेपछि एमालेका प्रमुख सचेतक पदम गिरी बचाउमा उत्रिँदा कडा सवाल जवाफ भएको हो । पाण्डेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने अपराधीलाई कारबाही गर्नुपर्ने बताएपछि आपत्ति जनाउँदै गिरी टोपबहादुरको बचाउमा उभिए । 

गिरीभन्दा पहिला बोलेका पाण्डेले ठगी घटनामा पूर्वगृहमन्त्री (एमाले उपाध्यक्ष रामबहादुर थापा बादल) र उनका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, एमाले सचिव रायमाझी र उनको छोरा सन्दीप रायमाझीको समेत नाम आएको भन्दै अपराधीलाई कारबाही गर्नुपर्ने बताएका थिए । 

‘८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै  १० लाखदेखि ५० लाखसम्म पैसा उठाएको कुरा बाहिर आएको छ । त्यसमा कसले उठायो भन्दा पूर्वगृहमन्त्री, उहाँको सुरक्षा सल्लाहकार ईन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप रायमाझीसमेतको नाम आएको छ,’ बैठकमा पाण्डेले भने, ‘पत्रपत्रिकाले डेढ डेढ करोडको चेक काटेको प्रष्टै छापिदिएका छन् । यस्तो खालको जघन्य अपराधपूर्ण काम भएका छन् । यी सबै अपराधीलाई कडाइका साथ कारबाही गर्न सरकारले तत्काल छानबिन गरोस् ।’ 

पाण्डेको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गिरीले सांसदलाई अपराधी भन्न नमिल्ने दाबी गरे । उनले पाण्डेको भनाई रेकर्डबाट हटाउन सभामुखसँग मागसमेत गरेका थिए ।

‘माननीयज्यूले सदनमा आफ्नो विचार राख्ने क्रममा यही सदनको अर्काे माननीयलाई अपराधी भनेर बोल्ने काम गर्नुभएको छ । यो संसदको विद्यमान नियमावलीको मर्मविपरीत छ । बोल्न नपाइने अभिव्यक्ति दिनु भएको छ । यसले संसदीय मर्यादा कायम हुन सक्दैन । पत्रपत्रिकामा के कुरा आयो, त्यो एउटा विषय हो । त्यो छानबिन गर्ने आफ्नो प्रक्रिया छ, छानबिन गर्नुपर्छ । जो कसैलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ, त्यो राज्यको दायित्व हो, त्यो काम गरोस्,’ प्रमुख सचेतक गिरीले भने, ‘पत्रपत्रिकामा कसैको नाम आएको भरमा कुनै पार्टीका नेता, माननीय सांसद वा व्यक्तिलाई अपराधी करार गर्न पाइँदैन । यसमा हाम्रो गम्भीर आपत्ति छ । यो रेकर्डबाट हटाइयोस् ।’ 

त्यसको जवाफमा पूर्वमुख्यमन्त्रीसमेत रहेका सांसद पाण्डेले आफूले कुनै सांसद वा अरु कसैलाई नभएर अपराधीलाई कारबाही गर्नुपर्ने भनेको बताए । ‘पत्रपत्रिकामा नाम आएको छ । यही संसदको सदस्यको नाम जोडेर, उहाँको छोराको नाममा चेक काटेको भनेर कुरा आएको छ । र मैले अपराधीहरुलाई कारबाही गरियोस् भनेको छु । सांसद फलानोलाई कारबाही गरियोस् भन्या छैन । अपराधी छन् भने सांसदलाई पनि कारबाही गर्नुपर्छ, मेरो भनाइ यति नै हो’, उनले भने ।

टिप्पणीहरू