घरबहाल घटाउन व्यवसायीहरुको सामूहिक माग

घरबहाल घटाउन व्यवसायीहरुको सामूहिक माग

रुपन्देहीका विभिन्न संघ संगठनले घरभाडा घटाउन माग गरेका छन् । रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ र घरबहाल सरोकार संघले संयुक्त रुपमा घरभाडा घटाउन माग गरेका हुन् । 

बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखाना धराशायी हुँदै गइरहेकाले घरबहाल तिर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरुले बताएका छन् । संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै बुटवल बजारमा घर भाडामा लिएर व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरु विस्थापित हुन लागेको दुःखेसो पोखेका छन् । 

भनिएको छ, ‘बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल बजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु पसल बन्द गर्ने संख्या बढ्दै गएको र बजार विस्थापित हुने क्रम बढ्दो छ ।’

पसलहरु बन्द भएमा घरधनीको आयस्रोत पनि बन्द हुने उल्लेख गर्दै उनीहरुले घरबहाल घटाउन आग्रह गरेका छन् । घट्दो र खस्कँदै गएको व्यापारलाई बचाएर आफू पनि चल्ने र अरुलाई पनि जोगाउने वातावरणको सिर्जना गरिदिन उनीहरुले भनेका छन् । 

‘हामी सम्पूर्ण घरधनीहरुलाई घरभाडामा अधिकतम छुट प्रदान गर्नको निम्ति विशेष आग्रह गर्दै बजार विस्थापन हुनबाट जोगाउन र व्यवसाय बन्द हुने अवस्थाको अन्त्य गर्ने वातावरण सिर्जना गरिदिनुहुन संघसंस्थाहरु हार्दिक अनुरोध गर्दैछौं’, जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच बुटवलका मृगेन्द्रकुमार शेरचनले घरभाडा घटाएको घोषणा गरेका छन् । वर्तमान विषम परिस्थितिलाई मध्यनजर गरी आफूले लिँदै आएको घरभाडामा आगामी एक वर्षसम्म २० प्रतिशत छुट दिइएको उनले बताए । शेरचन गत स्थानीय चुनावमा राप्रपाबाट बुटवलको मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

टिप्पणीहरू