सन्तोषीले दिलाइन जन्मभूमिलाई सन्तोष

सन्तोषीले दिलाइन जन्मभूमिलाई सन्तोष

धाविका सन्तोषी श्रेष्ठले जर्मनीमा भएको दौड प्रतियोगितामा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छन् । उनले १० किलोमीटर दौडमा उक्त किर्तिमान कायम गरेको बताइएको छ ।

जर्मनीको प्यादरबर्न इस्टर रनको ७५ औं संस्करणमा उनले रेकर्ड बनाएकी हुन् । उनी नेदरल्याण्डस्थित ग्लोबल स्पोर्ट्स् कम्युनिकेसनमार्फत सहभागी भएको जानकारी दिइएको छ । प्रतियोगितामा इथियोपिया, केन्यालगायत विश्वका विभिन्न देशका उत्कृष्ट धावकहरु सहभागी थिए ।

सन्तोषीले १० किलोमीटर दूरी ३४ मीनेट ३१ सेकेण्डमा पूरा गरिन् । उनले दौडामा १४ औं स्थान हासिल गरेर नयाँ रेकर्ड कायम गरेकी हुन् । यसअघि उक्त दौडमा राष्ट्रिय कीर्तिमानी समय ३५ मीनेट ३ सेकेण्डे थियो । 

जर्मनीको पश्चिमी सहर प्यादरबर्नमा ७५ वर्षदेखि हुँदै आएको यो प्रतियोगिता विश्व एथलेटिक्सबाट मान्यताप्राप्त उच्च प्रविधिकासाथ सम्पन्न हुने गर्दछ । ग्लोबल स्पोर्ट्स् कम्युनिकेशनकै केन्याली धाविका चेलनगट बेट्टीले रजत पदक जितेकी छन् । 

सन्तोषी नेदरल्याण्डस्थित एथलेटिक्सको विश्वकै अग्रणी संस्था ग्लोबल स्पोर्ट्स् कम्युनिकेसनबाट एसियाको दोस्रो र दक्षिण एसियाको पहिलो फेलोसिप पाएकी खेलाडी हुन् । सोही फेलोसिपअन्तर्गत उनले गत महिना इथियोपियामा प्रशिक्षण लिएकी थिइन् । एसियाली खेलकुदको तयारीमा रहेकी उनी प्रशिक्षणको क्रममा हाल नेदरल्याण्ड्समा छिन् ।

टिप्पणीहरू