काँग्रेस, एमाले निकट चार विद्यार्थी संगठनको एउटै स्वर

काँग्रेस, एमाले निकट चार विद्यार्थी संगठनको एउटै स्वर

स्ववियु निर्वाचन हुन बाँकी रहेका त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा आउँदो चैत ३० गते चुनाव गराउन प्रमुख चार विद्यार्थी संगठनहरु सहमत भएका छन् । विभिन्न कारणबाट चुनाव रोकिएका क्याम्पसमा आउँदो चैत ३० गते निर्वाचन गर्न उनीहरु तयार भएका हुन् । 

नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादी केन्द्रको (अखिल क्रान्तिकारी), एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपा एमालेनिकट अनेरास्ववियुले आज संयुक्त विज्ञप्ति जारी गर्दै चैत ३० गते हुने निर्वाचनका लागि तत्काल नयाँ कार्यतालिका प्रकाशित गर्न माग गरेका छन् । उनीहरुले निर्वाचन बिथोलिने खालका गतिविधि नगर्ने र कुनै पक्षबाट क्याम्पसमा ताला नलगाउने प्रतिबद्धता जनाएका छन् ।

‘निर्वाचन हुन बाँकी रहेको आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा निर्वाचन गर्ने, निर्वाचन बिथोलिने खालका गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरियो भने प्रशासनको सहयोगमा ताला तोडी चुनावी प्रक्रिया अगाडी बढाउने विषयमा संयुक्त विद्यार्थी संगठनहरु प्रतिबद्ध रहेको विषय जानकारी गराउदँछौं’, विज्ञप्तिमा उल्लेख छ । 

विद्यार्थी भर्ना विवादका कारण स्ववियु निर्वाचन रोकिएका क्याम्पसहरुमा सत्यतथ्य छानबिन गरी तत्काल चुनावी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।
 

टिप्पणीहरू