एमालेले चाहे फेरी संसद विघटन हुन्छ : विष्णु पौडेल
एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले देश मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् । प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पूर्ण कार्यकाल चल्नेमा शंका लागेको भन्दै उनले मध्यावधिको सम्भावना औंल्याएका हुन् ।
आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको पनि बताएका छन् । त्यसक्रममा उनले आफ्नो पार्टीले चाहे एक हप्तामा अहिलेको सत्ता गठबन्धन टुटाइदिने दाबी गरे ।
‘अहिले म तिथिमितितिर जान्नँ । म, यति चै भन्छु कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने काममा लागेका छैनौं, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्यो भने केही हप्ताको काम हुन्छ’, उनले दावा गर्दै भने ।
उपाध्यक्ष पौडेल अहिले पार्टीले संचालन गरेको 'मिसन ग्रासरुट अभियान'अन्तर्गत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुगिरहेका छन् । सोही क्रममा केही दिनअघि अछाम पुगेका उनलाई भीम रावल पक्षधर कार्यकर्ताले नाराबाजी गरेपछि त्यहाँको कार्यक्रम नै भाँडिएको थियो । त्यसपछि पौडेल र रावलबीच वाकयुद्ध चलिरहेको छ।
टिप्पणीहरू