गृहबारे नारायणकाजीको प्रतिक्रिया : मैले निर्णय गर्ने होइन
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री को बन्ने भन्ने विषयमा प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताउनुभएको छ ।
अब हुने क्याबिनेट बिस्तारमा श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारी भइरहेको भन्ने चर्चाबारे उहाँले आज यस्तो प्रतिक्रिया दिनुभएको हो । मन्त्रालयमा कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्री र पार्टीले गर्ने निर्णयअनुसार नै आफू अघि बढ्ने उल्लेख गर्नुभयो ।
तपाईं गृहमन्त्री बन्न लाग्नु भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, ‘त्यसमा के गर्ने भन्ने मैले निर्णय गर्ने होइन, मैले त प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो ।’
प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने बताउनुभएका मन्त्री श्रेष्ठले हालसम्म यसबारे कुनै निर्णय नभएको जानकारी दिनुभयो ।
एमाले र राप्रपाले सरकार छाडेपछि हाल गृहसहित १६ वटा मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा छ । सरकारको नेतृत्व गरेको दल माओवादीले नै गृहमन्त्री लिने र त्यसमा भौतिक पूर्वाधार मन्त्री रहनुभएका श्रेष्ठलाई लैजाने प्रधानमन्त्री प्रचण्डले तयारी गरेको एकथरीको भनाइ छ ।
टिप्पणीहरू