एमालेको ‘मिसन ग्रासरुट’ मा सरकारी मासुभातको चर्चा

एमालेको ‘मिसन ग्रासरुट’ मा सरकारी मासुभातको चर्चा

नेकपा एमालेको संगठन विस्तार कार्यक्रमअन्तर्गत जारी ‘मिसन ग्रासरुट’ अभियानमा सरकारी स्रोतको दुरुपयोग भएको आरोप लागेको छ । एमाले निकट पत्रकार संगठन प्रेस चौतारीका एकजना नेताले भक्तपुरमा हिजो आयोजित पार्टीको कार्यक्रममा नगरपालिकाले खर्च गरेको दाबी गर्दै यस्तो बताएका हुन् ।  

केन्द्रीय नेतालाई खटाएर देशभर मिसन ग्रासरुट अभियान चलाइरहेको एमालेले हिजो पार्टी निकट पत्रकारहरुलाई भक्तपुरमा भेला पारेर प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । पार्टीका पत्रकारलाई प्रशिक्षण दिन उपमहासचिव तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङलगायत नेताहरु भेलामा सहभागी थिए ।

 

प्रेस चौतारी बागमती, एशोसियट, उपत्यका र प्रतिष्ठान प्रदेशले आयोजना गरेको उक्त कार्यक्रमको ब्यानरमा ’मिसन ग्रासरुट अभियान, प्रदेशस्तरीय भेला तथा प्रशिक्षण, संगठन शुद्धिकरण कार्यशाला बैठक’ लेखिएको छ । 

उक्त ब्यानरसँगै प्रेस चौतारी बागमती प्रदेशको आयोजना र नगरपालिकाको सहयोगमा अर्को कार्यक्रमको ब्यानर पनि टाँगिएको छ । ब्यानरमा ‘सूर्यविनायक नगरपालिकाको विकास निर्माण र पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम लेखिएको छ । सूर्यविनायकमा एमालेका वासुदेव थापा मेयर छन् । 

त्यसप्रति टिप्पणी गर्दै चौतारीकै नेता माधव तिवारीले सरकारी स्रोतको चरम दुरुपयोग भएको बताएका हुन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘दुरुपयोगको हद ! एउटा कार्यक्रम दुईवटा ब्यानर ! नेकपा एमालेको मिसन ग्रासरूट अभियानका लागि सूर्यविनायक नगरपालिकाले राज्यस्रोतको लगानी गरेछ । भुक्तानीका लागि भित्तामा अन्तरक्रियाको ब्यानर झुण्याइएछ ।’

पत्रकार नै आवद्ध रहेको संस्थाले यसरी कार्यक्रम गरेपछि अरुले गरेका दुरुपयोगका समाचार कसरी आउँछ ? भनेर उनले प्रश्न पनि गरेका छन् । तिवारी एमाले नेता भानुभक्त ढकाल मन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरिसकेका सक्रिय पत्रकार हुन् ।

टिप्पणीहरू