नयाँ दिल्लीको सडकमा जर्मन दूतावासका कर्मचारीहरु कम्मर मर्काउँदै

नयाँ दिल्लीको सडकमा जर्मन दूतावासका कर्मचारीहरु कम्मर मर्काउँदै

भारतको राजधानी नयाँ दिल्लीस्थित जर्मन दूतावासले भारतीय चर्चित चलचित्र ‘आरआरआर’ को गीत ‘नाटुनाटु’ मा नाचिएको दृश्य आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको छ । 

अन्तरदूतावास प्रतियोगितामा सहभागी हुन दूतावासले उक्त गीतमा थुप्रैलाई नचाएर भिडियो बनाएको बताइएको छ । ओस्कर अवार्ड विजयी चलचित्रको गीत सामाजिक सञ्जालमा पोष्ट गरेको लगत्तै भाइरल बनेको छ । 

पूरानो दिल्लीको चाँदनी चोकमा खिचिएको भिडियोलाई भारत र भुटानका लागि जर्मन राजदूत फिलिप एकरम्यानले पोष्ट गरेका हुन् । भिडियोमा भारतीय र जर्मनहरु मस्तसँग नाचिरहेका देखिन्छन् ।

राजदूत फिलिपले क्याप्सन लेखेका छन्, ‘जर्मनहरु नाच्न सक्दैनन् ? म र मेरो इन्डो–जर्मन टोलीले पूरानो दिल्लीमा, ओस्करमा नाटुनाटुको जीत मनायौं । एकदमै खुशी लाग्यो । हामीलाई प्रेरणा दिनुभएकोमा भारतमा रहेको कोरियाली दूतावासलाई धन्यवाद । रामचरण र आरआरको टोलीलाई बधाई ।’

यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन राजदूतको उक्त पोष्टको जवाफ ट्वीटरमार्फत् दिएका छन् । उनले जर्मनहरु राम्रोसँग नाच्न सक्ने उल्लेख गर्दै लेखेका, ‘भारतको रंग र स्वाद ! जर्मनहरु पक्कै पनि राम्रोसँग नाच्न सक्छन् ।’

कोरियाली दूतावासले यस्तै भिडियो बनाएको एक सातापछि जर्मन दूतावासले भिडियो अपलोड गरेको हो ।

गत फेब्रुअरी २६ मा भिडियो पोष्ट गर्दै कोरियाली दूतावासले भनेको थियो, ‘नाटु नाटु, आरआर डान्स कभर ।’ आरआरको उक्त गीतले ओस्कर जितेपछि अहिले विश्वभर लोकप्रियता पाएको छ ।

टिप्पणीहरू