हिँड्दा हिँड्दै सशस्त्रका होनहारको प्राणान्त

हिँड्दा हिँड्दै सशस्त्रका होनहारको प्राणान्त

सशस्त्र प्रहरी बलका एक जना योगी इन्सपेक्टर हिजो अपरान्ह हिँड्दा हिँड्दै सडकमा ढलेर बितेका छन् । बलका ब्याण्ड गुल्म इञ्चार्ज तीर्थ छटुङ्गेलको भक्तपुर राधेराधे नजिकै ज्यान गएको हो ।

सडकको सिसीटिभी फुटेजमा उनी हिँडिरहेको अवस्थामा लल्याकलुलुक भएर ढलेको देखिन्छन् । हिँडेका तीर्थ के कारणले ढले र ढल्नेबित्तिक्कै कसरी बिते भन्ने सम्बन्धमा सशस्त्र प्रहरी र अस्पतालका चिकित्सकहरु पनि अनभिज्ञ देखिएका छन् । 

भक्तपुरको थिमीस्थित राधेराधे नजिकै भाटभटेनीको गल्लीमा उनी ढलेका हुन् । लगत्तै मध्यपुर अस्पताल पुर्याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरिदिएका थिए । सडकमा ढलेपछि सोही स्थानमा हिँडिरहेकी महिलाले उनलाई ट्याक्सीमा हालेर अस्पताल पुर्याएकी थिइन् ।

उनी काठमाडौंको सीतापाइलामा परिवारसहित बस्दै आएका थिए । हिजो अपरान्हतिर राधेराधे नजिकैको गल्लीमा पैदल गएको र फर्कंदा लडेको पाइएको हो । तर उनी कहाँ पुगेर फर्केका थिए भन्नेबारे अनुसन्धान भइरहेको स्रोतको दाबी छ ।
 
‘ड्युटी हल्चोक,बसाई सीतापाइला, ढलेको राधेराधे नजिकै भएकाले शंका गर्नुपर्ने देखिन्छ । उनलाई सुगर,प्रेसरको समस्या पनि रहेको आशंका छ,’ परिवारलाई उद्धृत गर्दै स्रोतले बतायो । तीर्थले इन्सपेक्टरको तालिम भर्खर सकाएका थिए । दुई दशक बढी सेवा गरेका उनी अनुभवी कर्मचारीको रुपमा परिचित थिए ।

‘हालैमात्र अल्पकालीन तालिममा पास आउट भएका हुन् । अलि अलि प्रेसर सुगर थियो कि भन्ने आशंका छ,’ उनी निकटस्थहरुले बताए । उनको नेपाल आर्मी र प्रहरीलेसमेत पटक पटक प्रशंसा गरेको थियो । विशेषगरी ब्याण्ड कार्यक्रममा छुट्टै खुबी भएका र व्यावसायिक हिसाबले राम्रा भएकाले तीर्थको अन्य सुरक्षा निकायले समेत प्रशंसा गरेका हुन् । 

हिजो निधन भएका उनको केएमसी अस्पताल भक्तपुरमा पोष्टमार्टम गरेर आजै अन्त्येष्टि गरिने सशस्त्रले जनाएको छ ।

यो पनि...

1. कोशी प्रदेश विरोधीहरु फेरि सडकमा

2. नर्सिङ नाम दर्ता जाँचको नतिजा सार्वजनिक

3. बुटवललाई स्वास्थ्यमा अगुवा शहर बनाउन छलफल

 

टिप्पणीहरू