व्यवसायीहरुको आन्दोलन बैंकपछि सेयर बजारतर्फ

व्यवसायीहरुको आन्दोलन बैंकपछि सेयर बजारतर्फ

प्रहरीले तीन जना सेयर लगानीकर्तालाई पक्रेको छ । भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन खोजेपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।    

सेयर लगानीकर्ताहरु तिलक कोइराला, नयन बाँस्तोला र अर्जुन कोइरालालाई गिरफ्तार गरेर प्रहरी वृत्त सिंहदरबार लगिएको छ । निषेधित क्षेत्रमा धर्ना बस्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

पुँजीबजार सुधार गर्नुपर्ने माग गर्दै राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राखेको बताइन्छ । उनीहरुले नेप्सेका अध्यक्षबाहेक अरुसँग कुरा नगर्ने अडान लिएका थिए ।

कोइराला गत असारमा धितोपत्र बोर्डमा आमरण अनसन बसेका थिए । उनले आज नेप्सेको कार्यालयमा धर्ना दिन आह्वान गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । केही दिनअघि व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध चर्का नारा लगाउँदै बालुवाटारमा धर्ना दिने कोशिस गरेका थिए । प्रधानमन्त्रीसँको भेटपछि उनीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

टिप्पणीहरू