नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन तीन दिन पछि सारियो

नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन तीन दिन पछि सारियो

धादिङ्ग जिल्लाकै चर्चित नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन तीन दिन पछि सारिएको छ । क्रियाशील सबै विद्यार्थी संगठनहरुको सहमतिमा निर्वाचनको मिति चैत ८ गतेका लागि सारिएको हो । 

त्रिविको स्ववियु निर्वाचन कार्यतालिकाअनुसार आजबाट मौन अवधि शुरु हुने र चैत ५ गते मतदान गर्नुपर्ने थियो । तर,नीलकण्ठ बहुमुखी क्याम्पसमा अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्वाचन प्रकृयामा आपत्ति जनाउँदै उम्मेदवारी दर्तापछि निर्वाचन प्रमुखको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि नेवि संघ बाहेक अन्य विद्यार्थी संगठनले प्रचारप्रसार पनि गरेका थिएनन् । 

अहिले प्रचार प्रसार गर्ने समयलाई समेत ध्यानमा राखेर मिति सारिएको विद्यार्थी नेताहरुले बताएका छन् । जिल्लाका अन्य क्याम्पसहरुमा भने निर्धारित मितिमा नै मतदान हुनेछ । 

नीलकण्ठको स्ववियु सभापतिमा नेवि संघबाट कविराज श्रेष्ठ, अनेरास्ववियुबाट आमोस थापा तामाङ, अनेरास्ववियू (क्रान्तिकारी) बाट श्रीकृष्ण रिजाल, प्रजातान्त्रिक विद्यार्थी संगठनबाट रोमिका तामाङ मैदानमा छन् । 

उम्मेदवारी दर्ताको दिन नेविसंघबाट मात्रै तीन जनाको निवेदन परेको भएपनि नेविसंघले अहिले त्यो समस्या सल्टाएर अघि बढेको छ । अनेरास्ववियु (एस)ले भने नेवि संघसंग तालमेल गरेर प्रत्यक्ष तर्फको सदस्यमा उम्मेदवारी दिएको छ ।
 

टिप्पणीहरू