अबुधाबीमा समातिएका अपराधीलाई काठमाडौं हुँदै कपिलवस्तु पुर्याइयो

अबुधाबीमा समातिएका अपराधीलाई काठमाडौं हुँदै कपिलवस्तु पुर्याइयो

इन्टरपोलबाट रेड नोटिस जारी भई कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज कपिलवस्तु पुर्याइएको छ । कपिलवस्तुको भृकुटी नगरपालिका–७ का २३ वर्षीय शिवशरण चौधरीलाई युएईको अबुधाबीमा पक्रेर काठमाडौं हुँदै कपिलवस्तुको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा हस्तान्तरण गरिएको बताइएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का ६६ वर्षीय गंगाराम थारुको हत्यामा संलग्न उनलाई विदेश फरार भएपछि आज नेपाल ल्याइएको हो । उनले २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरेर थारुको हत्या गरेका थिए । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरिएपछि युएई प्रहरीको सहयोगमा अबुधाबीमा पक्राउ गरिएको हो ।  

चौधरी घटनापछि एकाएक अबुधाबी पुगेका थिए । उनीविरुद्ध गत भदौ १४ गते रेड नोटिस जारी भएको थियो । त्यसको एक सातापछि भदौ २१ गते एनसीबी अबुधाबीले पक्राउ गरेर सपुर्दगीको निम्ति नेपाल प्रहरीसँग आवश्यक कागजात मागेको हो । 

चौधरी संलग्न घटना विवरण यस्तो थियो :

कपिलवस्तु बुद्धभूमि नगरपालिका ४ बुड्डीका बिक्की थारु खुट्टा दुखेर झारफुक गराउन गुरबा (थारु समुदायका धर्मगुरु) को घर गएका थिए । गाउँकै ६७ वर्षीय गुरबा गंगाराम थारुले झारफुक गरेपछि उनले निको भएको महशुस गरे । दुःखाई निको बनाएर पठाएका गंगाराम भने २०७६ साउन ६ गते राति ७ बजे मृत अवस्थामा भेटिए । उनको घाँटी, अनुहार तथा बायाँ हातको कुममा धारिलो हतियार प्रयोग गरेर विभत्स तरिकाले हत्या गरिएको थियो । 

झारफुक गरेपछि निको भएको महशुस गरेका बिक्कीले गुरुबाले बोक्सी लगाएर बुबालाई मारेको आशंका गरे । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक शशीधर शर्माका अनुसार ५ वर्ष अगाडि बितेका बिक्कीका पिता विष्णु प्रसाद थारु र केही महिना अगाडि मरेका भैंसी र गोरु गुरुबाले टुनामुना लगाएर मारेको आशंका गरियो । घटनाअघि बिक्कीले गाउँमा बोक्सी भएकाले आफ्नो बुबा, गोरु र भैंसी मारेको बताएका थिए । त्यसलाई चिन्न पाए आफूले ठीक पार्ने भन्दै उनी हिँड्ने गरेको शर्माले जानकारी दिएका छन् ।

प्रहरीले बिक्कीलाई शंकाको घेरामा राखे पनि प्रमाण जुटाउन नसक्दा २ वर्षदेखि घटना रहस्यमय थियो । तर पुराना घटनाका फाइल खोली अनुसन्धान सुरु गर्दा अपराधीको पहिचान गर्न सफल भएको शर्माले जानकारी दिए । हत्यामा संलग्न बिक्की र राम सेवक थारुलाई प्रहरीले ६ महिना अगाडि पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । हत्यापछि वैदेशिक रोजगारीको सिलसिलामा अबुधाबी पुगेका शिवशरण चौधरीलाई इन्टरपोल मार्फत पक्राउ गरेर आज काठमाडौं हुँदै इलाका प्रहरी कार्यालय गोरुसिङ्गे पुर्याइएको हो । 

यसअघि घटनाको जानकारी भएपनि लुकाउन खोज्ने स्थानीय लिलाराम चौधरी, विष्णुप्रसाद थारु र इन्द्रा थारु एक लाख रुपैयाँ धरौटीमा तारेखमा छुटेका थिए ।

 

टिप्पणीहरू