त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्यो

त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्यो

नेता उत्पादनको केन्द्र भनेर चिनिने काठमाडौँको त्रिचन्द्र कलेजमा चैत ९ गते स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी भर्नाको विषयपछि उत्पन्न विवादका कारण चैत ५ गतेको चुनाव प्रभावित बनेपछि नयाँ मिति तोकिएको हो । 

भर्नाको विषयलाई लिएर विवाद बढेपछि पूर्वनिर्धारित निर्वाचन कार्यतालिका प्रभावित बनेको थियो । पटक–पटकको छलफलपछि नयाँ मितिमा चुनाव गर्न सबै पक्ष सहमत भएको बताइएको छ । 

स्ववियु निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले चैत ९ गते चुनाव गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् । नयाँ कार्यतालिका अनुसार अन्तिम मतदाता नामावली भोलि चैत ३ गते प्रकाशन गरिने छ । त्यस्तै, त्यसउपर दाबी विरोध चैत ४ गते र चैत ५ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय हुनेछ । 

समितिले चैत ६ गते उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय हुने, चैत ७ गते प्रसारप्रसारका लागि समय दिइने र त्यसपश्चात् मौन अवधि सुरु हुने जनाएको छ । 

चैत ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मतदान समयावधि तोकिएको छ ।

टिप्पणीहरू