प्रसूति तयारीका लागि एक महिना अगाडि नै बिदा दिन माग

प्रसूति तयारीका लागि एक महिना अगाडि नै बिदा दिन माग

एकीकृत सरकारी कर्मचारी संगठनले महिला कर्मचारीहरुलाई प्रसूति तयारीका लागि एक महिना पहिले बिदा दिनुपर्ने माग राखेको छ । 

फागुन २६ र २७ गते सम्पन्न संगठनको प्रथम अधिवेशनबाट निर्वाचित महासचिव प्रकाश राईले आज विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले महिला कर्मचारीहरुलाई प्रसूति तयारीका लागि एक महिना बिदा दिनुका साथै कार्यालयमा स्तनपान कक्षको समुचित व्यवस्था गरिनुपर्ने माग पनि राखेका छन् ।  

त्यस्तै, टेस्टट्युब बेवीको निम्ति लामो समयसम्म अस्पतालमा निगरानीमा रहनुपर्ने र आराम गर्नुपर्ने भएकाले तलबी बिदाको व्यवस्था मिलाउनुपर्नेमा कर्मचारी संगठनले जोड दिएको छ । संगठनले अस्थायी/करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुका साथै हुलाकमा कार्यरत करारका कर्मचारीलाई विभेद नगर्नसमेत भनेको छ । 

साथै, कर्मचारी समायोजनले कर्मचारीहरु संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको भन्दै सबैलाई समेट्न एकीकृत संगठन संरचनाको व्यवस्था, संघीय निजामती सेवा ऐनको व्यवस्था, वैज्ञानिक सरुवा प्रणाली सञ्चालनदेखि क्षतिपूर्तिसहितको सार्वजनिक सेवाको मागसमेत गरिएको छ ।

टिप्पणीहरू