चालक र पैदलयात्री दुबैमा ट्राफिक सचेतनाको अभाव

चालक र पैदलयात्री दुबैमा ट्राफिक सचेतनाको अभाव

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतना अभियान’ को थालनी गरेको छ ।

ट्राफिक प्रहरीले ‘जेब्राक्रसिङ्ग तथा आकाशेपुलको प्रयोग गरौं’ भन्ने प्लेकार्ड बोकेर उपत्यकाका विभिन्न चोकमा बसेर सचेतना फैलाउने अभियान थालेको हो । 

सडकमा जथाभावी बाटो पार गर्दा दुर्घटना बढेको बताउँदै ट्राफिकले जेब्राक्रसिङ्ग तथा आकाशेपुलबाट मात्र सडक पार गर्न सुसूचित गराएको छ । 

ज्यानको जोखिम मोलेर जथाभावी बाटो काट्ने क्रम बढेपछि यो अभियान सञ्चालन गर्नुपरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । 

हिजो कार्यालयले ६३७ पैदलयात्रीलाई सम्झाईबुझाई गरेको उनले जानकारी दिए । काठमाडौंको न्यूरोड, बालकुमारी, जडीबुटी, ललितपुरको सातदोबाटो, जावलाखेल र भक्तपुरको सल्लाघारी र गठ्ठाघरको आकाशेपुलबाट सडक वारपार गर्न लगाइएको उनको भनाइ छ । 

त्यस्तै, रेड लाइटमा क्रस गर्ने, जेब्राक्रसिङ्गमा सवारी रोक्ने, फुटपाथमा साइकल कुदाउनेलगायतका विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई पनि सम्झाएर छाडिएको छ । 

यो अभियानले ट्राफिक सचेतना अभिवृद्धि गर्ने र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटनामा कमी गर्न मद्दत पुर्याउने प्रवक्ता भट्ट बताउँछन् । 

ट्राफिक कार्यालयले २०७४ र २०७६ मा पनि यो अभियान सञ्चालन गरेको थियो । तर, आजसम्म निकै थोरैले मात्र जेब्राक्रसिङ्ग तथा आकाशेपुलको प्रयोग गर्ने गरेका छन् ।

टिप्पणीहरू