निर्वाचन अधिकृतको राजीनामा माग्दै आमरण अनशन

निर्वाचन अधिकृतको राजीनामा माग्दै आमरण अनशन

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीहरु पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा आमरण अनशन बसेका छन् । 

स्ववियु निर्वाचनमा खटिएका निर्वाचन अधिकृतको राजीनामा माग गर्दै उनीहरुले आजदेखि अनशन थालेका हुन् । फागुन २७ गते क्याम्पसमा भएको मनोनयन दर्ताको क्रममा निर्वाचन अधिकृतले अनधिकृत व्यक्तिको दबाबमा  राजनीतिक स्वार्थको निम्ति विद्यार्थीहरुको नाम दुरुपयोग गरेको संघको आरोप छ । 

त्यस्तै, शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा आफूहरुलाई अनधिकृत तुल्याई निर्वाचन समितिभन्दा बाहेकका शिक्षकहरुसँग मिलेर निर्वाचन अधिकृतले आधिकारिक नभई अन्य माध्यमबाट सूचना प्रकाशित गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

‘विद्यार्थीको नाम दुरुपयोग भयो भनेर हामी आन्दोलित हुँदा हामीबाहेक अरुसँग वार्ता गरेर हामीलाई दबाउने दुष्प्रयास गरिएको छ’, विज्ञप्तिमा भनिएको छ,‘हामीसँग वार्ता नगरी हाम्रो नामको दुरुपयोग हामीलाई मान्य हुने छैन ।’

निर्वाचन अधिकृतको राजीनामा, नयाँ निर्वाचन अधिकृत र नयाँ निर्वाचन तालिका सार्वजनिक नभएसम्म अनशन नतोड्ने उनीहरुको चेतावनी छ ।

टिप्पणीहरू