माथिल्ला सबै पदको उम्मेदवारी खारेज

माथिल्ला सबै पदको उम्मेदवारी खारेज

चैत ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि रुकुमपश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पदाधिकारीमै उठेकाहरूको मनोनयन खारेज भएको छ ।

क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले एकल रूपमा र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले संयुक्त उम्मेदवारी दिएका थिए ।

जसअनुसार अध्यक्षसहित एक सदस्यमा नेविसंघ, सचिवसहित दुई सदस्यमा अनेरास्ववियु र कोषाध्यक्षसहित एक सदस्यमा अखिल क्रान्तिकारीको उम्मेदवारी परेको थियो । तर संयुक्त रूपमा अध्यक्ष पदका उम्मेदवार करिष्मा केसी, सचिव पदका उम्मेदवार दिनेश ओली र कोषाध्यक्ष पदका उम्मेदवार रूपा बस्नेतको उम्मेदवारी नै खारेज भएको छ ।

मुसिकोट खलंगा बहुमुखी क्याम्पस स्ववियु निर्वाचन अधिकृत डम्बरबहादुर खड्काका अनुसार अध्यक्ष केसीका प्रस्तावक महेश ओलीको भर्ना खारेज भएको, सचिव ओलीको वारेस भनिएका व्यक्तिले आफू कसैको वारेस नभएको बताएको र कोषाध्यक्ष रूपा बस्नेतको नाम मतदाता नामावलीमा रूपकुमारी बस्नेत भेटिएकाले उम्मेदवारी खारेज भएको हो ।

त्यस्तै सदस्यका उम्मेदवार नवराज ओलीको समर्थक बसेका महेश ओलीको भर्ना खारेज भएको र सेतु ओलीले उम्मेदवारी फिर्ता लिएपछि अन्य दुई जना सदस्यको पनि उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत खड्काले बताए । अब यो प्यानलबाट उष्मानी पुन मगर र सरस्वती सापकोटाको मात्र उम्मेदवारी कायम भएको छ ।

अखिल क्रान्तिकारीका भने सबैको उम्मेदवारी कायम छ । अखिल क्रान्तिकारीबाट अध्यक्षमा रमेश केसी, सचिवमा दुर्गाप्रसाद विश्वकर्मा, कोषाध्यक्षमा तुलसा खनाल र सदस्यहरूमा आशिष खत्री, यमराज डाँगी, बिष्णु ओली तथा लोकेन्द्र बिकको उम्मेदवारी कायमै छ ।

उम्मेदवारी खारेजीको विषयमा नेविसंघका जिल्ला अध्यक्ष लालबहादुर ओलीले क्याम्पस र निर्वाचन समितिको मिलोमतोमा एक मात्र संगठनलाई काखी च्याप्ने काम भएको आरोप लगाए ।
 

टिप्पणीहरू