भिआइपीहरुको उडान भसक्कै,अधिकांशले छाडे काठमाडौं

भिआइपीहरुको उडान भसक्कै,अधिकांशले छाडे काठमाडौं

राष्ट्रपति निर्वाचनलगत्तै विशिष्ट अधिकारीहरुको आउजाउ बढेको छ । सोही क्रममा आज राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना काठमाडौंबाट पोखरा जानुभएको छ । उहाँ बिहान सवा १० बजे यति एअरलाइन्सको उडानमा प्रस्थान गर्नुभएको बताइएको छ । 

त्यसैगरी एमाले अध्यक्षसँग भेटघाट गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की विराटनगर जानुभएको छ । उहाँ यति एअरलाइन्सको उडानमा मध्यान्ह १२ बजे जानुभएको हो । प्रदेश सरकारलाई कसरी जोगाउने भन्ने उपायको खोजीमा यो भेट भएको बुझिएको छ ।

आजै एमाले नेता महेश बस्नेत बुद्ध एअरको उडानमा बिहान ११ बजे काठमाडौंबाट विराटनगर र पूूर्वमन्त्री प्रदीप यादव बुद्ध एअरमा मध्यान्ह साढे १२ बजे सिमराबाट काठमाडौं आएको एअरलाइन्स स्रोतले बताएको छ ।

उता कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दुर्गा चापागाईं यति एअरलाइन्सको उडानमा पौने १० बजे काठमाडौंबाट बिराटनगर र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी बुद्ध एअरको उडानमा सवा ७ बजे काठमाडौंबाट पोखरा जानुभएको छ ।

एमाले सचिव योगेश भट्टराई र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पनि बुद्ध एअरमा दिउँसो सुर्खेत प्रस्थान गर्नुभएको छ । लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिर यति एअरलाइन्सको उडानमा दिउँसो नेपालगञ्ज जानुभएको छ ।
त्यसैगरी काँग्रेस नेता तथा पूर्वमन्त्री कृष्ण सिटौला साढे १ बजे बुद्ध एअरमा भद्रपुर प्रस्थान गर्नुभएको छ ।

टिप्पणीहरू