झारफुकको नाममा निर्घात कुटपिटलगत्तै १४ वर्षीया बालिकाको इहलीला समाप्त

झारफुकको नाममा निर्घात कुटपिटलगत्तै १४ वर्षीया बालिकाको इहलीला समाप्त

ऋषि भट्टराई 

रुपन्देहीमा झारफुकको बहानामा एउटी १४ वर्षीया बालिकाको ज्यान गएको छ । स्थानीय झाँक्रीले उपचारको नाममा गरेको कुटपिटबाट उनको मृत्यु भएको बताइएको छ । 

रुपन्देहीको सैनामैना नगरपालिका १० की २२ वर्षीया माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट स्थानीय १४ वर्षीया सीता ज्ञवालीको मृत्यु भएको बताइएको छ । उक्त घटनापछि प्रहरीले माता अर्थात सोनियालाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार अन्धविश्वासमा एउटी बालिकाको ज्यान गएको छ ।

फेसबुकमा हालिएको भिडियोमा माताले उपचारको नाममा बालिकालाई निर्घात कुटेको देखिन्छ । आइतबार महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउने गरेको भन्दै ती बालिकालाई भुईं घोप्टो पारेर कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो । माता भनिएकी महिला बालिकाको शरीरमाथि चढेर घण्टी बजाउँदै गालामा थप्पड हानेकी थिइन् । 

बालिकामाथि उफ्रिँदै विभिन्न अलाप गरेर रुद्राक्षको मालाले बालिकाको शरीरको विभिन्न भागमा हान्ने, भुईंमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक र मुखमा पानी खन्याउने, कपालमा समाएर टाउको बटारेकी भिडियोमा देखिन्छ । उनले बालिकाको कपाल तानेर अनुहारमा थुक्ने, खरानी खुवाउने र लछारपछार पार्दै कुटपिट समेत गरेको भिडिओमा देखाइएको छ ।

सोही भिडिओका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु बताइएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा खटिएको टोलीले माता भनिएकी महिलालाई पक्राउ गरेको हो । सोनियाको घरबाट बालिकालाई लछारपछार र कुटपिट गर्दा प्रयोग भएका विभिन्न सामाग्रीमध्ये त्रिशुल, जग, रुद्राक्षको मालालगायत बरामद गरिएको छ ।

मृतक सीता ज्ञवालीका परिवारले उनी पछिल्लो केही समयदेखि कानको बिरामी रहेकी, पटक पटक अस्पतालमा जाँचेर औषधि सेवन गर्दा पनि निको नभएपछि माताको घरमा उपचार गर्न लगिएको जानकारी दिएका छन् । उपचारको नाममा गरिएको कुटपिटबाट बालिकाको निधन भएको प्रहरीको भनाइ छ । सीताको शव सोही दिन राति नै घरपरिवारले कपिलवस्तुको लक्ष्मणघाटमा लगेर जलाएका थिए । 

प्रहरीले अनुसन्धात गर्ने क्रममा दाहसंस्कारमा जाँदा र फर्कंदा पूर्वपश्चिम राजमार्गमा रहेका सीसीटिभीहरुको फुटेज समेत संकलन गरेको छ । फुटेजका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

उक्त घटनाको दिन बिहान सीतालाई उपचारार्थ अटो रिक्सामा राखेर सालझण्डी बजारमा रहेको स्थानीय मेडिकल पुर्याइएको थियो । त्यहाँबाट घर फर्केको पनि सीसीटिभी फुटेजमा देखिएको छ । यी सबै प्रमाणको आधारमा प्रहरीले माता भनिने सोनियालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखी ज्यान सम्बन्धी कसुरमा अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान थालेको छ ।
 

टिप्पणीहरू