नेपालपछि छिमेकी चीनमा महिला पाइलटको चर्चा

भिडियो : सिन्ह्वा

सानो होओस् वा भीमकाय दुबै आकारका विमान उडाउनु सामान्य विषय हुँदै होइन । सरसर्ती हेदा यो पेशा जोखिमपूर्ण देखिन्छ । विगतमा पुरुषहरुको मात्र आधिपत्य रहेको यो पेशामा अहिले महिला सहभागिता बढ्दो छ ।

हाम्रै सन्दर्भमा नेपाली महिला पाइलटहरुले केही दिनअघि नेपाल बाहिरको आकाशमा पनि विमान उडाएका छन् । नेपाल वायुसेवा निगमका दुई महिला पाइलटले पहिलो काठमाडौं–दुबई सेक्टरमा अन्तर्राष्ट्रिय उडान गरेका हुन् । 

नेपाली उड्डयन इतिहासमा पहिलो पटक नेपाली महिला पाइलटले काठमाडौंदेखि दुबईसम्म उडान भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सिर्जना राउतको टोलीले अन्तर्राष्ट्रिय उडानमा सफलता हासिल गरिसकेका छन् । 

उता छिमेकी चीनमा पनि महिलाहरुले नै विमान उडाउन थालेका छन् । सन् ९० को दशकमा पुरुषले मात्र विमान उडाउने गरेको चीनमा अहिले महिला पाइलटहरु पनि त्यत्तिकै छन् । 

त्यस्तैमध्येकी एक हुन् छियामन एयरलायन्समा कार्यरत पाइलट लुओ ड्यानी बृहत आकाशमा आफ्नो सपना बोकेर उडिरहेकी छन् । सानैदेखि पाइलट बन्ने सपना देखेकी उनी माध्यमिक कक्षा पूरा गरेपछि चीनको नागरिक उड्डयन विश्वविद्यालयमा भर्ना भइन् । 

चार वर्षे पढाइ र आवश्यक तालिम सकेपछि उनी छियामन एयरलायन्ससँग जोडिएकी हुन् । ड्यानीलाई आफ्नो पेशा निकै चुनौतीपूर्ण लाग्ने गरेको बताउँछिन् । यद्यपि, आफ्नो सपना पूरा गर्न पाउँदा उनी निकै खुशी देखिन्छिन् । उनी भन्छिन्, ‘यस क्षेत्रमा महिलाहरुले राम्रो प्रगति गरेका छन् ।’

छियामन एयरलायन्समा ५४ जना महिला पाइलट कार्यरत छन् । निष्ठापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका उनीहरुले उत्कृष्ट रेकर्ड बनाएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

टिप्पणीहरू