मन्त्री हट्दा फाइल ध्वार्रर

मन्त्री हट्दा फाइल ध्वार्रर

आइतबार साँझ साढे ७ बजेतिरको घटना हो, सामान्य प्रशासनमन्त्रीको चेम्बरमा संघीयतिरका अधिकृतहरूका सरुवाको विषयमा मन्त्रीको सचिवालयले उठाएको सरुवाको टिप्पणी फाइल चार टुक्रा पारेको मन्त्रीलाई देखाइयो । च्यातिएको टुक्रा मन्त्रालयका अधिकृत विकास रिजालले मन्त्री अमनलाल मोदीलाई देखाउन ल्याएका थिए । 

सरुवाको लिष्ट च्यातिएको देखेपछि मन्त्री अमनलाल मोदी पड्किने मुडमा थिए र सोधे ‘कसले च्यात्यो ?’ जवाफ आयो ‘कर्मचारी प्रशासनका हाकिम कमल भट्टराईले ।’ मन्त्री मोदीले पड्कँदै भने, ‘खै कहाँ छन् कमल ?’ उनी भक्तपुरस्थित निवास फर्किसकेको जवाफ दिए स्वकीयहरूले । मन्त्री मोदीले सचिवलाई बोलाउन भने । मन्त्रीको भनाइ नखस्दै मन्त्रीको च्याम्बरमा हाजिर भए सचिव कृष्णहरि पुष्कर । सचिवको इन्ट्रीपछि मन्त्रीले उनका चेम्बर भएका सहयोगी र कर्मचारीलाई त्यहाँबाट बाहिर जान निर्देश गरे । प्रारम्भ भयो, मन्त्री र सचिवबीच एकान्तवार्ता ।

स्रोतका अनुसार मन्त्री मोदीले सहसचिव कमल भट्टराई यो टिप्पणी किन च्याते भन्दै च्यातिएको टिप्पणी देखाउँदै प्रश्न सोधे । कमललाई उनै पुष्करको जोडबलमा अहिले संघीय मामिला तथा सामान्यको कर्मचारी प्रशासनको हर्ताकर्ता बनाएर लगिएको छ । सचिवले च्यातेको कागज हेरौं त मन्त्रीज्यू भन्दै कागज हेरिसकेपछि कमललाई आफूले सम्झाउने वचनबद्धता व्यक्त गरे । तत्कालै सचिवले फोन घुमाए तर सहसचिव भट्टराईको फोन लागेन । टिप्पणी फाइल च्यातेको विषयमा कमलसँग जिज्ञासा राख्दा भने, ‘आफूले टिप्पणी फाइल च्यातेको हुँदै होइन’ भन्ने जवाफ दिए पनि मन्त्रीका सचिवालयका कर्मचारीले कमलले च्यातेर चार टुक्रा पारेको टिप्पणीको फाइल जनआस्थाकर्मीलाई देखाएका थिए । 

सरुवाको टिप्पणीमा वन विभागबाट अनिता श्रेष्ठलाई सञ्चार मन्त्रालय ल्याउनुपर्ने । उनको सिफारिसकर्ता माओवादी निकटका कर्मचारी डिलाराम खनाल । त्यसैगरी, शाखा अधिकृत ईश्वरी पौडेलको सिफारिसकर्ता सहसचिव नारायण अर्याल । एक महिनाअगाडि नै यो नाम गएको तर कमलको सेटिङको लिष्टमा यी नाम परेका थिएनन्, त्यही कारण पेन्डिङमा थिए । दोस्रो लटमा पनि उनीहरूको नाम सरुवाको लिष्टमा चढेपछि कमलले च्यातेका हुन् । सचिवालयका कर्मचारी र सहयोगीहरूले बोकेका कर्मचारी सरुवाको लिष्टमा नपरेपछि हामी यहाँ बसेको के अर्थ भन्दै मन्त्रीसँग कारण खोज्दै थिए । कमल निजामतीमा गन्हाएका पात्र हुन् । पहिला सामान्यमा अधिकृतको रूपमा बसेर खेलोफड्को राम्रै बुझेका । उनी पनि कृष्णहरि पुष्करझैं गणेश प्रवृत्तिका कर्मचारी हुन् ।

वाणिज्य मन्त्रालयमा कहिल्यै नबसे पनि इकोनोमिक काउन्सिलरको रूपमा काम गर्ने अवसर पाए । जसरी लोकमानको कृपाले सचिव कृष्णहरि पुष्कर अख्तियारको प्रवक्ताबाट सिधै दिल्लीमा महावाणिज्यदूत खान सफल भएका थिए । त्यस्तो अवसर गौ प्राणी भएकै कारण अहिलेका उद्योग सचिव तोयनारायण ज्ञवालीले कहिल्यै पाएनन् । नेतृत्वको दैलो चाहर्ने कला नजानेर हो या नचाहेर उनले यस्तो अवसर नपाएका हुन् ।

पुष्कर अर्थसचिव हुँदा कमल भन्सारको डिजी थिए । गत साल स्थानीय तह निर्वाचनको मुखमा विराटनगर भन्सार प्रमुख तारा सापकोटासँग अनुचित लाभ खोजे । कमलले खोजेझैं रकम बुझाउन अस्वीकार गरेको चर्चा त्यतिखेर भन्सारमा व्यापक रूपमा सुन्न पाइन्थ्यो । यसैगरी सुक्खा बन्दरगाहका तत्कालीन हाकिम जयबहादुर भण्डारीलाई समेत समय–समयमा बोलाएर स–सना कुरामा समेत बयान लिने र दुःख दिने गरेको भन्सारकै भुक्तभोगी कर्मचारी सुनाउँछन् । 

यता, भावी राष्ट्र«पतिका रूपमा हेरिएका रामचन्द्र पौडेलले जिल्लाको सामान्य एक उपसचिवको सरुवामा विशेष चासो राखेको चर्चा सामान्य प्रशासनतिर सुन्न पाइन्छ । राष्ट्रपतिका उम्मेदवारी दर्ता गरिसकेपछि पौडेलले मन्त्री मोदीलाई टेलिफोन सम्पर्क गरेर आफ्ना जिल्लाको व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरि नागिलालाई तत्काल हटाउन भने । त्यहाँ गंगाराम सुवेदी (प्रदेश मुख्यमन्त्री कार्यालयबाट) ल्याउन आग्रह गरे । यो सरुवाको काम गुपचुप टुंगिसकेको छ । त्यहाँको बजेटमा तर मारेर खान पल्किएका कर्मचारीले हरिले हटाउन खोज्दा मौरीको घारमा हात हालेझैँ सरकारी बजेटमा तर मारेर खान पल्किएका कर्मचारीको लखेटाइमा परेका छन् उनी । यसैबीच, चोरलाई चौतारी भनेझैँ सबैतिर राजश्व दम्पच पार्दै हिँड्ने सहसचिव झलकराम अधिकारी राजश्व अनुसन्धान विभागको डिजीबाट गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागको डिजी हुने भएका छन् । मानव बेचबिखनमा विदेश लैजाने दलालहरूको सहयोगीका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय बदनाम भइरहेका बेला झलकरामजस्ता व्यक्ति त्यहाँ पुग्न लाग्दा बेथिति बढ्ने प्रष्ट छ । उनी प्रधानमन्त्री प्रचण्डका कास्की जिल्लाका गाउँले हुन् ।
 

टिप्पणीहरू