माधव नेपाल भेट्न वामदेव आलोकनगरमा

माधव नेपाल भेट्न वामदेव आलोकनगरमा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामपन्थी नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । आलोकनगरस्थित एकीकृत समाजवादीको मुख्यालयमा उहाँहरुले आज दिउँसो भेटघाट गर्नुभएको हो । 

अध्यक्ष नेपाललाई भेट्न नेता गौतम मध्यान्ह साढे १२ बजेतिर आलोकनगर पुग्नुभएको थियो । उहाँहरुबीच समसामायिक राजनीति र पार्टी एकताका विषयमा कुराकानी भएको बताइएको छ । 

स्थापनाकालदेखि लामो समयसम्म नेकपा एमालेको नेतृत्व तहमा रहेका नेपाल र गौतम पछिल्लो समय भने अलग–अलग कित्तामा छन् । नेकपा हुँदै एमालेमा आएको विभाजनपछि नेपालले अलग्गै पार्टी गठन गर्दा गौतम भने निस्क्रिय हुनुहुन्छ । नेकपा ब्युँताउने आफ्नो अभियानले गति लिन नसक्दा समाजवादीमा प्रवेश गर्ने वा पुनः एमालेमा फर्किन गौतम तयारीमा रहेको चर्चा पनि छ ।    

हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई भेट्नुभएको थियो । राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङलाई भोट माग्ने क्रममा भैंसेपाटीस्थित गौतम निवास पुग्नुभएका ओलीले वामदेवलाई एमालेमा फर्कन आग्रह गरेको बताइएको छ ।
 

टिप्पणीहरू