सहमतीय राष्ट्रपति चयनमा देशी–विदेशी चलखेल : देव गुरुङ

सहमतीय राष्ट्रपति चयनमा देशी–विदेशी चलखेल : देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउन आफ्नो पार्टी तयार नहुने अडान दोहोर्याएका छन् । राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्नुपर्ने पार्टीको निर्णयको व्याख्या गर्दै उनले विगतका राष्ट्रपतिले दलीय आस्थाका आधारमा असंवैधानिक कदम चालेकाले यसपटक सबै सचेत हुनुपर्ने पनि बताए । 

आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पूर्वराष्ट्रपति रामवरण यादवले प्रधानसेनापति हटाउने तत्कालीन सरकारको निर्णय उल्ट्याएर संविधान मिचेको दाबी गरे । त्यस्तै, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय ह्याङ्गओभरका कारण संविधानअनुसार भूमिका खेल्न चुकेको उनको भनाइ छ । 

‘रामवरण यादवको पालामा प्रधानसेनापति काण्डमा दलको प्रभावमा गएको र पछिल्लो समयमा विद्यादेवी भण्डारीको पालामा पनि दलीय ह्याङ्गओभरले गर्दा संविधानअनुसार काम गर्न चुकेको हुनाले हामीले कुनै दल विशेषभन्दा पनि सबै राजनीतिक दलको साझा उमेदवार ल्याउने प्रयास गरेका छौँ’, गुरुङले भने । 

साथै, जनताले निर्वाचनमा सबै ठूला दलहरु मिलेर सरकार चलाउन म्याण्डेड दिएकाले पनि दलीय सहकार्य आवश्यक रहेको उनको धारणा छ । ‘यसै अवस्थालाई मध्यनजर राखेर संवैधानिक पदहरुमा सबै दलको सहमति खोजेका हौँ, तर कतिपय पदमा सम्भव भयो, कतिपयमा भएन’, उनले भने ।

त्यसक्रममा महासचिव गुरुङले विदेशी शक्ति राष्ट्रहरुको चलखेलले गर्दा राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन अप्ठेरो परेको पनि बताए ।

टिप्पणीहरू