विदेश गएका कलाकारले जब बाटो बिराए

विदेश गएका कलाकारले जब बाटो बिराए

‘रक्सी र तरुनी भनेपछि मनुवाहरू भुतुक्कै हुन्छन् । थेग्नु त कति थेग्नु । नथेशौँ भने चिनिएका कलाकार हुन् । पैसा दिनुपर्ने, केटी मिलाइदिनुपर्ने, रक्सी पिलाउनुपर्ने र सपिङ पनि गरिदिनुपर्ने । नसकिने भो, नेपाली आयोभन्दा डर लाग्छ, यार ।’ नेपाली भाषा, कला र साहित्यलाई माया गर्ने थाइल्याण्डका नेपाली युवाहरू दिक्क छन् । ‘आवाज र अनुहार’ बिगारेर हँसाउन माहिर मानिने सन्दीप क्षेत्री थाई नेपाली संघ शिक्षा र युवा विभागले बैंककमा आयोजना गरेको युवा सम्मेलनमा आइपुगे ।

बैंकक आएकै साँझ यहाँका जल्दाबल्दा व्यवसायी कुमार कार्कीले रात्रिभोज दिए । त्यो दिन रक्सी र चुरोट तान्दै मस्तले रमाए । अर्कोदिन भव्य कार्यक्रम थियो । एकाबिहानै ‘रसपान गरौँ न’ भन्दै भट्टीतिर लम्किए । कार्यक्रमको अन्य सेसन चलिरहँदा, एकछिन् सुते । फ्रेस भएपछि सम्मेलनमा हाँसे, हँसाए । अनेकौँ तीतामिठा जीवनकथा पनि वाचन गरे । युवाहरूलाई कलात्मक भएर बाँच्न सिकाए ।

कार्यक्रम सकिएपछि आइतबार साँझ तीन पेग लगाएर एकाएक हल्ला गर्न थाले । अब मलाई साथी चाहियो भन्दै एउटा रक्सी र अर्को हातमा चुरोट सल्काउन थालेपछि थामिएनन् । अनि मार्केटसम्मै पुर्‍याइदिए, कुमार कार्कीका पीएले । ‘नेपाली आयोभन्दा डर लाग्छ, यार । दाम–पैसो नभएको बेला अघिल्लोपटक एनआरएनएको सम्मेलनमा फसियो । सन्दीपजीले सपिङ जाऊँ भन्नुभो, गएँ । लु हेर्नु त ५० हजार नेपाली रूपैयाँ चुना लाग्यो ।’ अघिल्लोपटक बैंकक आउँदा झण्डै नेपाली ५० हजार सिध्याइदिएको फुकेटका ती नेपालीभाषी युवाले बताए । 

‘कार्की आफ्नो प्रचार भयो कि दंग पर्दै लाख खर्च गर्न तयार हुन्छन्,’ उनीनिकट एक नेपालीले भने । कलाकार क्षेत्री सोमबार दिउँसो अर्को कार्यक्रममा पुगे । मगर, गुरुङ संघको समारोहमा पुगेका उनी निकैबेर रमाए । अनि हँसाइसकेपछि आयोजकलाई आफूतिर बोलाए । लौ, धेरै रमाइलो भो हजुर भन्दै बाहिर निस्के । पछिपछि निस्केका नेपाली युवाले पनि भावना बुझेरै गन्तव्यसम्म पुर्‍याइदिए । सन्दीप हप्तादिन जति बैंककमै बस्न चाहन्थे । तर कुमार कार्कीले मंगलबार ‘फेरि भेटौँला’ भन्दै काठमाडौं फर्काइदिए ।


 

टिप्पणीहरू