रविलाई कारबाही गर्नुपर्ने निवेदनसहित सरकारी वकिल कार्यालय पुगे युवराज

रविलाई कारबाही गर्नुपर्ने निवेदनसहित सरकारी वकिल कार्यालय पुगे युवराज

समाजवादी केन्द्र,नेपालका वरिष्ठ नेता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुध्दको जाहेरी दर्ता प्रक्रिया अघि बढाउन माग गर्दै निवेदन दिएका छन् । 

जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौमा निवेदन दर्ता गर्दै उनले मुलुकी फौजदारी कार्यविधिसंहिता ऐन,२०७४ को दफा ५ बमोजिम जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाउन माग गरेका हुन् । गत माघ १७ गते जिल्ला प्रहरी परिसर,टेकुमा जाहेरी पेश गरे पनि दर्ता नभएपछि उनले सरकारी वकिल कार्यालय गुहारेका छन् ।

जानाजान झूठो विवरण दिएर राहदानी लिई राहदानी ऐन २०७६ को दफा २१ को खण्ड (ख) बमोजिम कसूर गरेको हुनाले लामिछानेलाई राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) को व्यवस्थाअनुसार ५ वर्षसम्म कैद र हदैसम्म जरिवानाको उनले माग गरेका छन् । 

निवेदनमा भनिएको छ,‘जिल्ला प्रहरी परिसर टेकु,काठमाडौंमा जाहेरी दर्ताको लागि पेश गरिएकोमा सो कार्यालयले यथोचित प्रमाण हुँदाहुँदै पनि सत्ताशक्तिको कारण जाहेरी दर्ता नगरेकाले मुलुकी फौजदारी कार्यविधिसंहिता ऐन, २०७४ को दफा ५ बमोजिम यो उजुरी दर्ताका लागि जिल्ला प्रहरी परिसर टेकु,काठमाडौंको नाममा आदेश जारी गरिदिनुहुन निवेदन पेश गरेको छु ।’

गैरनेपाली नागरिक रहेर प्राप्त गरेको ०८८३४८३८ नम्बरको पासपोर्ट कसूरमा लामिछानेको मुद्दा अगाडि बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

टिप्पणीहरू