हिरासतको भित्ता फुटाएर भागेका एक थुनुवा पक्राउ, पाँच जना बेपत्ता

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार ६ थुनुवामध्ये एक जना पक्राउ परेका छन् । मिथिला नगरपालिका–६ का २८ वर्षीय रोशन महतोलाई प्रहरीले हिजो साँझा समातेको हो ।
 
उनीसहित ६ जना थुनुवा हिजो ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर भागेका थिए । हातहतियार मुद्दाका आरोपित महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमाविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ ।  
 
प्रहरीका अनुसार उनी गत शनिबार मात्र पक्राउ परेका हुन् । उनीमाथि अहिले पनि हातहतियार तथा खरखजाना मुद्दा चलिरहेको छ । त्यस्तै, प्रहरी हिरासतबाट फरार अन्य पाँच जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका ७ मध्ये ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका ईलाका प्रहरी कार्यालयका तीन प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको हो । 

उनले उक्त घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएको पनि जानकारी दिए ।
 

प्रहरीका अनुसार हातहतियार मुद्दाका शंकर सिंह, लागूऔषध मुद्दाका विनोदकुमार शर्मा र अमित मण्डल र राष्ट्र सेवक बाधा मुद्दाका रोशन यादव र हरिदीप सिंह फरार छन् ।
 

टिप्पणीहरू