अदुवाको बिऊमा भ्रष्टाचार गर्ने मेयरले अरु के बाँकी राखे होलान् ?

अदुवाको बिऊमा भ्रष्टाचार गर्ने मेयरले अरु के बाँकी राखे होलान् ?

अदुवाको बिऊ किन्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखमाथि मुद्दा दायर गरेको छ । आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीसहित नगरपालिकाका तत्कालीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हालेको हो ।

 अदुवाको बिऊ खरिदमा भ्रष्टाचार गरेको आरोपसहित मेयर अधिकारी,प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी,तत्कालीन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बिऊ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि मुद्दा दायर गरिएको हो ।

तोकिएको नमूनाबमोजिम उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बिऊ (गानो) खरिद गरेर भुक्तानीसमेत गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । नगरपालिकाले काठमाडौँको तीनकुनेस्थित स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बिऊ खरिद गरेको थियो । 

२ करोड १४ लाख ५० हजार बजेटमध्ये ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ उक्त कम्पनीलाई भुक्तानी गरिएको पाइएको छ । तर,स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालीन नगर प्रमुख भुपराजले अस्वाभाविक रुपमा दररेट थप गरेर नोक्सान पारेको आयोगको अनुसन्धानबाट खुलेको छ । बाँकी १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मेयर अधिकारी, प्रशासकीय अधिकृत पाण्डे,बाली विकास अधिकृत त्रिपाठी, लेखापाल रेग्मी र खरिदार कोइरालालाई विपक्षी बनाइएको छ । 

बिऊ आपूर्ति गर्ने स्पुक ट्रेडर्स प्रालि तीनकुनेका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । न्यौपानेले गुणस्तरहीन अदुवाको बीऊ उपलब्ध गराएर आफूले लाभ लिएको र सरकारी कोषमा हानी नोक्सानी पुर्याएको भन्दै आयोगले उनीसँग २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग गरेको छ ।

टिप्पणीहरू