डोजर चलाउने मेयर

डोजर चलाउने मेयर

काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन्द्र साहलाई अचेल बेस्कनै ¥याप लाग्न थालेजस्तो छ । अरुलाई त जाँड, रक्सी, भाङ, धतुरो, ह्यासिस जस्ता कुरा लाग्ने गर्छ । उहाँ यस्तो लागुपदार्थतिर त हुनुहुन्न क्या रे ! त्यसैले उहाँलाई लाग्ने भनेको ¥याप मात्रै होला ।

अचेल उहाँ महानगरपालिका कम, डोजर बढी चलाइरहनुभएको छ । स्थानीय निकायको चुनाव हुँदा महानगरपालिका चलाउँछु भनेर भोट माग्नुभएको थियो । तर जब जितेर जानुभयो, त्यसपछि महानगरपालिका चलाउन छोडेर डोजर चलाउन थाल्नुभएको छ । डोजर त जसले पनि चलाउने साधन हो । त्यति डोजर चलाउन चुनावै जित्नुपर्छ भन्ने छैन । 

ठीकै छ, उहाँ महानगर होइन डोजर चलाउने मान्छे हुनुहुँदो रहेछ । तर डोजरै चलाउने भए पनि अलि गतिलो ढंगले चलाइदिए त हुन्थ्यो नि ! उहाँले चलाएको डोजरले कहिले कसको घरलाई हानेको छ, कहिले कसको जग्गा हानेको छ । खालि हानेको छ, हानेको छ । सही ठाउँमा चाहिँ कहीं हानेको छैन । कहिले टुँडिखेलमा हानेको छ, कहिले ठेलामाथि हानेको छ ।

यसरी त मापसे गरेर चलाउने डोजर ड्राइभरले पनि हान्दैन । के गरी चलाएको यो ? जसले एउटा डोजर त ठीक ढंगले चलाउन सक्दैन, त्यसले महानगर कसरी चलाउला ?
 

टिप्पणीहरू