साझाका ३७ विद्युतीय बस चौरमा, यात्रु लखरलखर सडकमा

साझाका ३७ विद्युतीय बस चौरमा, यात्रु लखरलखर सडकमा

यातायात लिमिटेडले चिनियाँ कम्पनी ९सिएचटिसी० सँग खरिद गरेको विद्युतीय बसलाई दुई महिनादेखि सडकमा नगुडाएर थन्काइएको छ । प्रतिबस डेढ करोड रुपैयाँ लागतमा खरिद गरिएको ती विद्युतीय बस अलपत्र भएका छन् । ४० वटा विद्युतीय बस खरिद गरेको साझाले तीन वटा मात्रै सञ्चालनमा ल्याएको छ । बाँकी ३७ वटामध्ये भक्तपुरको राधेराधेमा १७ र बनेपामा २० वटा पार्किङ गरेर राखिएको छ । 

यता, साझाका महाप्रबन्धक महेन्द्रराज पाण्डेले हालसम्म पनि गाडीको चेकजाँच भइरहेको जानकारी दिए । बिजुली बस चेक गर्न जिम्मा पाएको दिगो कम्पनीले गाडीको पूरै परीक्षण गरेपछि मात्र साझाको जिम्मेवारीमा आउने उनको भनाइ छ । ‘अहिलेसम्म गाडीको प्राविधिक निरीक्षण भइरहेको छ । पूरै चेकजाँच भएर साझाको मातहतमा आएपछि सञ्चालन गरिन्छ’, उनले भने । तर, निरीक्षण भएर गाडी कहिले सञ्चालनमा आउँछ रु यसको टुंगो भने छैन । 

साझाका एक जना कर्मचारीले चार्जिङ स्टेशनको अभावका कारण विद्युतीय बस सञ्चालनमा आउन नसकेको बताए । ३७ बससँगै साझाले २० वटा चार्जर पनि खरिद गरेको छ । तर, जडानका लागि उपयुक्त स्थानको अभावमा ती चार्जर प्रयोगविहीन बनेका हुन् । साझाले केन्द्रीय कार्यालय, पुल्चोकमा दुई वटा चार्जर जडान गरेको छ । साझाका सबै बस सञ्चालनमा ल्याउन चार्जिङ स्टेशनको व्यवस्थापन गरिनुपर्ने ती कर्मचारीको भनाइ छ । 

झण्डै ५६ करोडमा खरिद गरिएका सवारी साधन थन्काउँदा सर्वसाधारण आक्रोशित देखिन्छन् । भक्तपुर, राधेराधेका स्थायी बासिन्दा उमेश मैनालीले भने,‘बस ल्याएको महिनौं बितिसकेको छ । यही थन्काउँदा थन्काउँदै पूरानो भइसक्यो । यो गाडी पनि चलाउने भन्दाभन्दै वर्षौं बित्छ जस्तो छ १’ 

सर्वसाधारणलाई सास्ती 

काठमाडौं उपत्यकामा रातको समयमा बस नपाउँदा सर्वसाधारणले निकै हैरानी खेप्नुपरेको छ । यहाँको जनसंख्यालाई धान्ने भाडाका सवारी साधन काठमाडौंका सडकमा छैनन् । भाडाका ठूला सवारी साधन नहुँदा यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य देखिन्छन् । तर, सरकारले त्यत्रो लगानी गरेर ल्याएको विद्युतीय बस भने लामो समयदेखि थन्किएको छ । गाडी ल्याउने र विभिन्न बहाना बनाएर थन्काउने प्रवृत्तिले सरकारको लगानी बालुवामा पानी मिसाएझैं भएको जानकारहरुको बुझाइ छ । 

थोत्रा सवारी साधनमा यात्रुहरुले यात्रा गरिरहँदा सुविधासम्पन्न बस धुलोले ढाकिएर कुरुप देखिन्छन् । वातावरण तथा यात्रुको सहजतालाई मध्यनजर गर्दै ल्याइएका गाडी चौरमा थन्किँदा आमनागरिक चिढिनु स्वाभाविक हो । कुन रुटमा चल्छन् तीन वटा बस रु साझाले गत असारदेखि सञ्चालनमा ल्याएको तीन वटा विद्युतीय बस हाल दुई रुटमा गुडिरहेको छ । ब्याट्रीबाट चल्ने आठ दशमलव पाँच मीटर लम्बाइको बस चीनको नान्जिङ शहरमा रहेको ‘सीएचटीसी’ कम्पनीको उत्पादन हो । 

हाल एउटा बस लगनखेल–जावलाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बूढानीलकण्ठसम्म गुड्छ । त्यस्तै, अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे–पूरानो बसपार्क–माइतीघर–नयाँ बानेश्वर–सिनामंगल–तीनकुने हुँदै एयरपोर्ट रुटमा राखिएका छन् । साझाले अहिले ल्याएका ती बस १२ मीटर लम्बाइको छ । अपांगमैत्री बसभित्र सिसिक्यामरा, डिस्प्ले बोर्ड, सीट बेल्टलगायतको सुविधा छ । त्यस्तै, बसमा दुई वटा ढोका छन् । ४२ सीटको यो बस एक पटक चार्ज गरेपछि दुई सय किलोमीटर गुड्छन् । सबै बस सञ्चालनमा आउँदा यात्रुहरुलाई निकै सहज हुने देखिन्छ । तर, महिनौंसम्म नगुड्दा सर्वसाधारणले आश मारेका छन् । 

यसो भन्छ यातायात मन्त्रालय 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले पनि ती बसको हालसम्म परीक्षण कार्य भइरहेको बताए । ‘करिब १५ दिनअघि मन्त्रालयले सोध्दा इञ्जिनियरले परीक्षण गरिरहेका छन् भन्ने जवाफ आएको थियो । हामीले फटाफट परीक्षण गरेर सञ्चालनमा ल्याउन निर्देशन दिइसकेका छौं’, उनले भने,‘त्योभन्दा अरु त्यस्तो कुनै जानकारी आएको छैन ।’ 

सरकारले २०८६ सालसम्म नेपालमा इन्धनबाट चल्ने सवारी साधन विस्थापन गर्ने घोषणा गरिसकेको छ । यातायात क्षेत्रमा निजी क्षेत्रले धेरै हिस्सा ओगटेको हुनाले सरकारले आफ्नो लगानीमा बस भित्र्याउन लागेको हो । विद्युतीय बस खरिद गर्न सरकारले २०७६ साउनमा साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ निष्काशन गरेको थियो । 

लगानीको सुनिश्चितासाथ साझाको विशेषज्ञ टोलीले काम शुरु गरेको थियो । तर, २८ दिन नबित्दै मन्त्रालयले सबै काम रोक्न निर्देशन दिएको थियो । त्यसको डेढ वर्षपछि २०७७ फागुनमा खरिद प्रक्रिया अघि बढाइएको हो । त्यतिबेला सरकारले तीन सय वटा बस खरिद गर्ने योजना बनाएको थियो । सोहीअनुरुप पहिलो चरणमा तीन अर्बबाट करिब एक सय ५० वटा बस खरिद कार्य अघि बढाइएको थियो । हाल ४० वटा बस नेपाल भित्र्याइएको छ भने बाँकी चरणबद्ध रुपमा ल्याउने साझाले जानकारी दिएको छ ।

टिप्पणीहरू