भक्तपुुरमा अशक्तलाई घरमै नागरिकता

भक्तपुुरमा अशक्तलाई घरमै नागरिकता

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले शारीरिक अशक्तता भएकालाई घरमै पुगेर नागरिकता वितरण गर्न थालेको छ ।  बोल्न, हिँडडुल गर्न र बस्न नसक्नेहरुलाई प्रशासनले घरमै पुगेर नागरिकता दिन थालेको हो । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई नागरिकता प्रदान गरेको छ । हिँडडुल गर्न र बस्न तथा बोल्न नसक्ने सुप्रिया अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ शर्माले उनको घरमा पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।

टोलीमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, प्रशासकीय अधिकृत उर्मिला खतिवडा र नागरिकता फाँटका नासु विमल काफ्ले रहेको बताइएको छ ।

प्रजिअ शर्माकाअनुसार हालसम्म तीन जनालाई घरमै पुगेर नागरिकता वितरण गरिसकिएको छ । ‘मैले प्रशासनको जिम्मेवारी सम्हालेपछि तीन जनालाई घरमै गएर नागरिकता दिएकी छु’, उहाँको भनाइ छ,‘वडाबाट थप अशक्त नागरिकको विवरण संकलन गर्ने काम भइरहेको छ ।’

टिप्पणीहरू