कोरियन भाषा परीक्षा (ईपीएस) शुल्क बढ्यो
कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारहरुको भीसा शुल्क बढेको छ । नेपालस्थित कोरियाली राजदूतावासले पर्सिदेखि लागु हुने गरी भीसा शुल्क बढाएको जानकारी दिएको छ ।
वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले नयाँ वर्षको पहिलो दिन जनवरी १ देखि भीसा शुल्क बढेको जनाएको छ । हालसम्म राजदूतावासले ७ हजार २०० रुपैयाँ भीसा शुल्क लिँदै आएकोमा अब सात हजार ८०० रुपैयाँ पुर्याइएको छ ।
दक्षिण कोरिया जान छनौट भएका कामदारले स्वयं उपस्थित भएर ईपीएस शाखामा सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था छ ।
अबदेखि सीसीभीआई फाराम बुझाउँदा थप छ सय रुपैयाँ तिर्नुपर्ने शाखाले जनाएको छ । त्यस्तै, सीसीभीआई फाराम बुझाइसकेकाले पनि थप रकम तिर्नुपर्ने शाखाले जनाएको छ ।
‘सीसीभीआई फाराम बुझाइसक्नु भएको भएतापनि निजहरुको भीसा जारी हुनका लागि नेपालस्थित कोरियन राजदूतावासमा सन् २०२३ जनवरी १ पश्चात मात्र जाने भएकाले भीसा शुल्कवापत अपुग रकम बुझाउन जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
टिप्पणीहरू