कुखुरामा गडबड गरेको भेटिएपछि कालिकोटका सुब्वा पक्राउ

कुखुरामा गडबड गरेको भेटिएपछि कालिकोटका सुब्वा पक्राउ

कालिकोटका एक जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । कालिकोटको खाँडाचक्र नगरपालिका कार्यालयमा कार्यरत सहायकस्तर पाँचौ तहका (नायव सुब्बा) दिपकराज देवकोटाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आज मुद्दा दर्ता भएको छ । 

नगरपालिकाले पोल्ट्री बंगुर फार्मसँग चार सय २० वटा कुखुरा उपलब्ध गराउन सम्झौता गरेकोमा उनले उक्त फार्मको नाममा भुक्तानी दिने क्रममा चेक लुकाएर घुस मागेको उजुरी परेपछि आयोगले छानबिन अघि बढाएको थियो । अख्तियारको छानबिनमा देवकोटाले भ्रष्टाचार गरेको पुष्टि भएपछि मुद्दा चलाइएको हो । 

नगरपालिकाद्धारा वडा नम्बर ३ र ४ मा लघु उद्यम विकासअन्तर्गत सीप विकास तालिम कार्यक्रममा कुखुराको साकोनी जातको चल्ला मात्र खरिद गरी तालिम सञ्चालन गर्ने बताइएको थियो । उनले १५ दिन तालिम सञ्चालन गरेको देखाए पनि जम्मा एक दिन मात्र तालिम सञ्चालन गरेर भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

अख्तियारले अदालतमा दर्ता गरेको अभियोग पत्रमा पोल्ट्री बंगुर फार्मलाई भुक्तानी गर्नुपर्ने १ लाख ८० हजार १८० रुपैयाँमध्येबाट ३० हजार १८० रुपैयाँ देवकोटाले चेकमार्फत घुस लिएको पाइएको विवरण उल्लेख छ । 

साथै, तालिम सञ्चालन भएको झूठा कागजात कार्यालयमा पेश गरी भुक्तानी लिएर १ लाख ९७ हजार ८९५ रकम हिनामिना गरेको हुँदा अख्तियारले बिगो असुल उपरको मागदाबी पनि गरिएको छ ।
 

टिप्पणीहरू