केही घण्टाको कौतुहलपूर्ण खेल,जसले टुटायो झण्डै "जुग जाने" तालमेल

केही घण्टाको कौतुहलपूर्ण खेल,जसले टुटायो झण्डै "जुग जाने" तालमेल

नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्किएसँगै मुलुक नयाँ राजनीतिक कोर्षमा प्रवेश गरेको छ । १५ वर्ष सहकार्य गर्ने सार्वजनिक प्रतिवध्दता जनाएका काँग्रेस र माओवादी शीर्ष नेताहरुको सत्ता स्वार्थका कारण गठबन्धन मात्र टुक्रिएको छैन नाटकीय ढंगले अर्को समीकरणसमेत बनेको छ । यसअघि आलोपालो प्रधानमन्त्रीमा कुरा नमिलेकै कारण विभाजित भएका एमाले र माओवादी केन्द्र आलोपालोमै सहमति गरेर एक ठाउँमा उभिने परिस्थिति बनेपछि वामपन्थी एकताको आधार बनेको चर्चासमेत भैरहेको छ । 

एमाले-माओवादी नेतृत्वको नयाँ गठबन्धन बनेसँगै कतिपयले तत्कालीन नेकपा 'ब्युँतिएको' अर्थ लगाएका छन् । वामपन्थी आन्दोलनको कोणबाट यसलाई 'अग्रगामी कदम' भनेर समर्थन गर्नेहरु पनि देखिएका छन् । तर,जसरी हिजो राजनीतिले नाटकीय मोड लियो, त्यसका पछाडि राजनैतिक/वैचारिक कारणले भन्दा पनि सत्ताको जोडघटाउले भूमिका खेलेको प्रष्ट छ । काँग्रेसलगायत केही पार्टीका नेताले नयाँ बनेको गठबन्धनलाई कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने लालसाको परिणाम भन्नुले पनि त्यही कुराको पुष्टि गर्छ । 

अर्कोतिर ओली-प्रचण्ड सहकार्य आफ्नो गुमेको सत्ता फर्काउने एमाले अध्यक्ष केपी ओलीको तीब्र चाहनाको प्रतिफल पनि हो । नेपालमा आफू अनुकूलको सरकार बनाउने बाह्य शक्तिहरुको चलखेलले नयाँ समीकरण बनाउन प्रत्यक्ष-परोक्ष भूमिका खेलेको विश्लेषण गरिएको छ । कारण जेहोस्,पुस १० गते आइतवार केही घण्टाको अन्तरालमा विकसित राजनीतिक घटनाक्रमले दलहरुको पोजिसनमा ठूलो बदलाव ल्याएको छ । गठबन्धनकै बलमा सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेसले हातमा आइसकेको सत्ता गुमाएको छ भने 'कर्नर' मा पुगेको एमाले पुन: शक्तिमा फर्किएको छ । गठबन्धन जोगाउन नसक्दा सबैभन्दा ठूलो क्षति नेपाली कांग्रेसले व्यहोर्नुपर्ने छ । राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैँ लिने देउवाको अस्वाभाविक अडानले राजनीतिक,संवैधानिक नियुक्तिदेखि सबै महत्वपूर्ण पद उनको हातबाट खोसिने निश्चित छ । 

देउवाले साढे दुई वर्ष बालुवाटार छोड्न परे पनि खटनपटन कांग्रेसकै चल्थ्यो । यी सारा सम्भावनालाई नजरअन्दाज गर्दा आज चुनाव जितेको कांग्रेसले हार्नु परेको छ । 

गठबन्धनका अन्य दलहरुलाई विश्वासमा लिएर दुवै तहका सरकार, राष्ट्रपति,सभामुख,संवैधानिक नियुक्तिहरुमा हात माथि पार्ने सुनौलो मौका आफ्नै कारण गुमेपछि यतिबेला कांग्रेसभित्र सन्नाटा छाएको छ । एमाले-माओवादी एक ठाउँमा उभिने परिस्थिति बन्नुलाई काँग्रेसकै कतिपय नेताले देउवाको 'हठ' को उपज भनेका छन् । जसका कारण हातमा परिसकेको राष्ट्रपति, सभामुख,कम्तिमा चार प्रदेशको मुख्यमन्त्रीसहित प्रतिनिधित्व कांग्रेसले गुमाउनु परेको सो पार्टीका नेताहरुले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले त सार्वजनिक रुपमै देउवाले प्रचण्डलाई धोका दिएकाले गठबन्धन टुटेको बताएका थिए । 

पाँच पटक मुलुकको प्रधानमन्त्री बनेर पनि कुनै उल्लेखनीय काम गर्न नसकेको आरोप हुँदाहुँदै पनि देउवाले समन्वयकारी नेताका रुपमा एउटा विश्वास आर्जन गरेका थिए । तत्कालीन नेकपाको विभाजनपछि कमजोर प्रतिपक्षमा रहेको काँग्रेस सरकारको नेतृत्वमा पुग्नुमा उनको त्यही भूमिका नै मुख्य मानिएको थियो । विगत बिर्सने हो भने पछिल्लो डेढ-दुई वर्ष देउवामा त्यो क्षमता देखिएको पनि हो । तर,निर्वाचनबाट  कांग्रेस पहिलो पार्टी बनेपछि पूर्वसहमति तोडेर देउवा आफैँ प्रधानमन्त्री बन्न तम्सिनाले स्थिति बिग्रिएको नेताहरुको भनाई छ ।  

नेपाली कांग्रेस संसदीय राजनीतिको जेठो र परिपक्व पार्टी हो । चुनावी राजनीतिका सबै अनुभव काँग्रेस र देउवासँग छ । कुनै बेला दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गरेको काँग्रेस २०७४ को आमनिर्वाचनमा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको थियो । तर,संसदीय राजनीतिका कुशल खेलाडी मानिने सभापति देउवाले विगतका यी तथ्यलाई आत्मसात गरेर उचित निकास दिन नसक्दाको परिणाम भोग्न कांग्रेस बाध्य हुँदैछ । संसदको अंकगणित बिर्सेर ठूलो दलको दम्भ देखाउँदा हिजोसम्म खेलाडीको भूमिकामा मैदानमा रहेको कांग्रेस अब दर्शकका रुपमा सीमित हुन पुगेको छ । 

संसदको अंकगणित बिर्सेर ठूलो दलको दम्भ देखाउँदा हिजोसम्म खेलाडीको भूमिकामा मैदानमा रहेको कांग्रेस अब दर्शकका रुपमा सीमित हुन पुगेको छ । 

हो,पूर्वसहमतिअनुसार आलोपालोमा पहिलो खेप प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेको भए न गठबन्धन तोडिन्थ्यो न कांग्रेसको हातबाट सत्ताको चाबी फुत्किन्थ्यो । किनभने जो प्रधानमन्त्री भए पनि ठूलो दलको हिसाबले सत्ता र शक्तिमा कांग्रेसकै हात माथि पर्ने स्थिति थियो । राजनीतिक तथा संवैधानिक नियुक्तिहरू,राजदूतलगायतका अन्य नियुक्तिमा प्रचण्डले चाहेर पनि एकलौटी गर्ने अवस्था हुँदैनथ्यो । अर्थात् देउवाले साढे दुई वर्ष बालुवाटार छोड्न परे पनि खटनपटन कांग्रेसकै चल्थ्यो । यी सारा सम्भावनालाई नजरअन्दाज गर्दा आज चुनाव जितेको कांग्रेसले हार्नु परेको छ । 

यो घटनाले कांग्रेस र देउवामात्रै उत्तानो परेका छैनन्,अरु केही पात्रहरु समेत घर न घाटको भएका छन् । खासगरी गठबन्धनमा अति विश्वास गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि देउवालाई संसदीय दलको नेता बनाउन ब्रिफकेस बोकेर दौडिने र  बालुवाटारको चोटाकोठा चार्दै हिंड्नेहरुको कन्तबिजोग भएको छ । 

माधव नेपाल 

कांग्रेस र माओवादीको लडाइँले गठबन्धनमा भाँडभैलो हुँदा राजनीतिक रुपले सबैभन्दा ठूलो क्षति एकीकृत समाजवादीलाई भएको छ । यो गठबन्धन बनाउन अध्यक्ष माधव नेपाललगायतका नेताहरुले महत्वपूर्ण भूमिका खेलेका थिए । पार्टी विभाजनसम्मको पीडा खेपेर बनाएको गठबन्धन जोगाउने अन्तिमसम्मको प्रयास असफल भएपछि माधव नेपालहरु अहिले जीवनकै अप्ठ्यारो मोडमा पुगेका छन् ।

हिजो बालकोटबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय हुँदा समाजवादीका नेताहरु भने पार्टीको बैठकमा थिए । बैठकले काँग्रेसको दम्भ र माओवादीको अस्थिर चरित्रका कारण गठबन्धन टुटेको औपचारिक निर्णय गरेको छ । अनौपचारिक कुराकानीमा समाजवादीका नेताहरुले दुबैतिरबाट आफूहरुलाई एक्ल्याएको भन्दै देउवा र प्रचण्ड दुबैसंग चित्त दुखाएका छन् । 

रामचन्द्र पौडेल 

नेपाली राजनीतिमा अभागी पात्रका रुपमा चिनिएका कांग्रेस नेता रामचन्द्र पौडेलको राष्ट्रपति बन्ने सपना गठबन्धन टुटेसँगै टुटेको छ । यसअघि प्रधानमन्त्रीका लागि १७ पटकसम्म प्रतिष्पर्धा गरेर अन्तिममा फालिएका पौडेलले यसपटक राष्ट्रपतिको आशमा देउवालाई संसदीय दलको नेतामा सघाएका थिए । तर, राजनीतिको उत्तरार्धमा पुगिसकेका उनको भाग्य यसचोटी पनि खुलेन । 

राष्ट्रपति र प्रधानमन्त्री दुवै दावी गर्दा सबै गुम्ने परिस्थितिको आकलन गरेर देउवालाई आफ्नो अडान छोड्न आफूले गरेको आग्रह खेर जाँदा एकपटक देशको सबैभन्दा माथिल्लो पदमा पुग्ने पौडेलको चाहना पूरा भएन ।   

आरजू देउवा र उनको टिम 

कांग्रेस सत्ताबाट आउट भएसँगै देउवालाई गुमराहमा राखेर भित्रभित्रै खेल खेल्ने बालुवाटारको कोर टिमको पनि बिजोग भएको छ । खासगरी देउवा पत्नी आरजू राणाको योजनामा काम गर्ने ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतहरुले परिस्थितिको सही आकलन नगरेको  र देउवालाई अनावश्यक उचालेर परिस्थिति बिगारेको कांग्रेसभित्रैबाट आरोप छ ।

आरजुले बालुवाटारमा बसेर पार्टीमा द्वैध सत्ताको अभ्यास गरेको आरोप पनि छ । हिजो बालुवाटारमा गठबन्धनको बैठक बस्नुअघि उनकै योजनामा  पार्टीका पदाधिकारीहरुलाई समेत थाहा नदिई सांसदहरुको भेला बोलाएर देउवालाई दबाब दिइएको थियो । चुनावअघि पार्टी प्रवेश गरेर समानुपातिक सांसद बनेकी चन्दा चौधरीमार्फत सांसदहरुलाई बालुवाटार झिकाएर 'माओवादीलाई प्रधानमन्त्री छाड्न सकिंदैन' भन्ने कागजमा हस्ताक्षर गराएको र त्यसलाई देखाएर देउवाले गठबन्धनको बैठकमा 'पार्टीका साथीहरुले मानेनन्' भनेर अडान नछोडेको बताइन्छ ।  

राजनीतिक समीकरण फेरिएर कांग्रेस शक्तिहीन बनेपछि यसरी पार्टी र राज्य सत्तामा हालीमुहाली गर्ने आरजु र उनको टिमका सदस्यहरुको पनि बिजोग हुने भएको छ । 

विनोद चौधरी 

देउवा नेतृत्वको सरकारमा मन्त्री खाने दाउमा रहेका डलर अर्बपति बिनोद चौधरी पनि नराम्रोसँग जिल्लिएका छन् । देउवा बालुवाटारबाट बाहिरिएसँगै उनलाई संसदीय दलको नेता चयनका लागि उनले अघिल्लो रात गरेको सबैखाले चलखेल पनि खेर गएको छ । 

जनार्दन शर्मा 

कांग्रेस नेतृत्वको गठवन्धनकै निरन्तरतामा जोड दिंदै आएका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई पनि एमाले-माओवादी सहकार्यले झड्का दिएको छ । अर्थमन्त्रीसमेत रहेका उनको पछिल्लो समय आरजु राणासँग निकटता रहेको कुरा यसअघि नै आइसकेको छ । त्यो निकटताले शर्मालाई बालुवाटारसँग नजिक्याएको  अनुमान धेरैले गरेका छन् ।

शर्माले नै देउवाका विश्वासपात्रहरुलाई प्रचण्डले अन्तिममा गठबन्धन नछोड्ने सूचना पुर्याएको र त्यसैलाई आधार मानेर बालुवाटारका मान्छेहरुले देउवालाई उकासेको काँग्रेसका कतिपय नेताहरुले दावी गरेका छन् । 

यता,एमाले-माओवादी मिलाउनमा माओवादीका अर्का उपमहासचिव वर्षमान पुनको भूमिका महत्वपूर्ण रहेको मानिएको छ । माओवादीको आन्तरिक राजनीतिमा यी दुई प्रतिष्पर्धी रहेकाले पनि पछिल्लो राजनीतिक घटनाले शर्मालाई पछि पारेको विश्लेषण गरिएको छ ।

टिप्पणीहरू