मधेशमा दिनहुँ गोली प्रहार,दुई दिनमा दुईको मृत्यु

मधेशमा दिनहुँ गोली प्रहार,दुई दिनमा दुईको मृत्यु

मधेश प्रदेशमा पछिल्ला दुई दिनमा गोली प्रहारबाट दुई जनाको हत्या भएको छ । धनुषा र बारा जिल्लामा भएको गोली प्रहारको घटनामा यसरी ज्यान गएको हो । अस्ति बारा र हिजो धनुषामा गोली प्रहार भएको थियो । हिजो साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का ४० वर्षीय धानुक दासको गोली प्रहारबाट ज्यान गएको प्रहरीले बताएको छ । 

दासलाई अज्ञात व्यक्तिले घरमै पुगेर गोली प्रहार गरेको थियो । अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो । त्यसअघि अस्ति बेलुकी बाराको गढीमाई नगरपालिका २, भुतही पुल नजिकै गोली हानिएको थियो । 

उक्त गोली प्रहारमा भारतीय नागरिकको ज्यान गएको थियो । बिहारको मोतिहारी जिल्ला छोडादानो पिप्रा निवासी ४५ वर्षीय शिवपुजनप्रसाद यादवको ज्यान गएको प्रहरीले जनाएको छ । दुबै घटनामा गोली प्रहार गर्नेबारे अहिलेसम्म प्रहरीले केही जानकारी प्राप्त गर्न सकेको छैन । 

घटनापछि गोली प्रहारमा संलग्नहरु भारततर्फ भागेको हुनसक्ने आशंका गरिएको छ ।

टिप्पणीहरू