गए राती गगनको टोलीद्वारा प्रहरीहरु पक्राउ

गए राती गगनको टोलीद्वारा प्रहरीहरु पक्राउ

नेपाली काँग्रेसभित्र संसदीय दलको नेता छनोटमा निर्वाचन प्रक्रिया अपनाउनुपर्ने अवस्था उत्पन्न भएपछि संस्थापन र इतरपक्षबीच अविश्वासको खाडल बढेको छ । त्यसको गतिलो उदाहरण हिजो बिहान लैनचौरस्थित भारतीय दूतावास छिर्ने सडकको मुखैमा देखियो ।

बिहान ८ बजेदेखि होटल एम्बेसडर होटलमा महामन्त्री गगन थापा र नेता डा. शेखर कोइराला समूहले बैठक आयोजना गरेको थियो । त्यहाँ करिब एक दर्जन नेता,मन्त्री तथा सभासद पुगेका थिए । सत्तारुढ दलका नेताहरुको भेलामा सुरक्षा दिनु प्रहरीको पनि मुख्य कर्तव्य हुने नै भयो ।

भेलामा बालुवाटारको निर्देशनअन्तर्गत सुराकी गरेको आरोप लगाउँदै त्यहाँ खटिएका दुई जना प्रहरीलाई थापा समूहका नेता तथा कार्यकर्ताले पक्रेका छन् । एम्बेसडरको बैठकपछि संस्थापन इतर समूह सिंहदरबारको दक्षिणी गेट सामुन्नेको बसेरा होटलमा बोलाइएको भेलामा सहभागी भएको थियो । 

त्यसपछिका भेला र आवतजावतहरुको निगरानी गर्न नछाडेको भन्दै राती करिव १०:३० बजे गगनको निर्देशनमा उनका कार्यकर्ताले केही प्रहरीलाई समात्नुका अलावा तिनको परिचय पत्र जफत गरेका छन् ।
चुनावी अभियानदेखि नै संसदीय दलको नेतामा निर्वाचित भएर प्रधानमन्त्री हुने लक्ष्य राखेका महामन्त्री थापाका समर्थकले नेपाल प्रहरीका सई सरोज भण्डारी र जवान आशिष क्षेत्रीलाई नियन्त्रणमा लिएका हुन् । सइ सरोजको परिचयपत्रमा काठमाण्डौका प्रहरी प्रमुख एसएसपी भरत बोहोराको हस्ताक्षर छ ।

हाकिम सुदूर पश्चिमका भएको र उनले सुदूर पश्चिमकै प्रधानमन्त्रीको हितमा सुराकी खटाएको भन्दै गगनले आक्रोश ब्यक्त गरेका छन् । भन्छन्-"एउटै पार्टीभित्र त अर्को पक्षबिरुध्द यस्तरी राज्ययन्त्रको दुरुपयोग गरिन्छ भने अरु दलका नेताहरुको हकमा झन कतिसम्म निगरानी बढाइएको होला !" उता नेपाली काँग्रेसभित्र उत्पन्न पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेलको शिकार भने ती निर्दोष प्रहरीलाई बनाइएको सुरक्षा स्रोतले बतायो । "शान्ति सुरक्षाको निम्ति खटाइएका प्रहरीमाथि गगन खेमाले राजनीतिक प्रतिशोधको बात लगाउनु दुःखद् हो,’स्रोतले भन्यो ।

टिप्पणीहरू