रंगेहात पक्राउ परेका जनप्रतिनिधि दोषी ठहर, गाउँपालिकाका अध्यक्ष भन्छन् ‘षड्यन्त्र गरेर फसाइयो’

रंगेहात पक्राउ परेका जनप्रतिनिधि दोषी ठहर, गाउँपालिकाका अध्यक्ष भन्छन् ‘षड्यन्त्र गरेर फसाइयो’

बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ति लागूऔषध गाँजा–चरेससम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालसले घर्तिमाथि लागेको मुद्दामा कसूर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले बताए । अध्यक्षलाई २ देखि १० वर्षसम्मको सजाय हुनसक्ने उनले जानकारी दिए ।
 
अध्यक्ष घर्तिले भने कसूर अस्वीकार गरेका छन् । उनले केही मानिसले आफूलाई षड्यन्त्र गरेर फसाएको दाबी गरे । भने, ‘मध्यराति मेरो घरको वरपर लागूऔषध प्याँकियो र मलाई फसाइयो ।’निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष घर्तिमाथि २०७७ असार १२ गते आफ्नै घरमा अवैध लागूऔषध राखेको आरोप लागेको थियो । प्रहरीले उनको घरबाट ८० केजी गाँजा धुलो पारिएको अवस्थामा बरामद गरेको थियो । 

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाइ’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी अध्यक्ष घर्तिको घरसम्म पुगेको बताइएको छ । उक्त घटनामा जिल्ला प्रहरी कार्यालय बागलुङले २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषधसम्बन्धी कसूरमा मुद्दा दर्ता गराएको थियो ।

टिप्पणीहरू