सडक धुँदै मेलम्ची

सडक धुँदै मेलम्ची

अस्ति सोमवारको कुरा हो, काठमाडौंको लैनचौर पूरै जाम भयो । के भएको रहेछ भनेर बुझ्दा थाहा भयो, पूरा सडक पानीले भरिएको रहेछ । सडकमा पानी पानी भएर गाडी जान मिलेन । त्यसैले जाम । पानी कहाँबाट आएछ भनेर बुझ्दा थाहा भयो, त्यो त मेलम्चीको पाइप फुटेर आएको रहेछ । मेलम्चीको पानी सडकभरि बगेपछि सडक जाम ।

यो देखेर कतिले मेलम्चीलाई गाली गरे । कतिले खानेपानी लिमिटेडलाई सरापे । तर त्यसरी गाली गर्नेहरुलाई म एउटा पुरानो प्रसंग सुनाउन चाहन्छु । २०४६ सालको आन्दोलन सफल भएको थियो । नयाँ संविधानअनुसार नयाँ चुनाव हुनेवाला थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले खुलामञ्चबाट भाषण गर्नुभयो— कांग्रेसको सरकार आयो भने मेलम्ची आउने छ, मेलम्ची आयो भने मुख मात्र होइन, काठमाडौंको सडकसमेत पानीले धोइनेछ । 

नभन्दै अहिले मेलम्ची आएको छ । सरकारमा पनि कांग्रेस नै छ । त्यतिबेला कृष्णप्रसाद भट्टराईले भन्नुभएको कुरा साकार भएको छ । उहाँले त्यतिबेलै भन्नुभएको थियो, मेलम्चीको पानीले काठमाडौंको सडक धुनेछौँ । त्यतिबेला मान्छेले पत्याएनन् । अहिले लैनचौरमा सडक धोएको देख्दा सबै चकित छन् । 

कांग्रेसले जे भन्छ त्यो गर्छ भनेको यही त होला नि होइन ?
 

टिप्पणीहरू