नराम्रो काम नगर्न सिकाउने गुरु नै बलात्कारमा सँलग्न

नराम्रो काम नगर्न सिकाउने गुरु नै बलात्कारमा सँलग्न

शिक्षक भनेका बालबालिकाको भविष्यलाई अन्धकारबाट उज्यालोतिर लाने समाजका अगुवा  हुन् । शिक्षकले नै दिएको ज्ञान,विद्या र बाटोको आधारमा बालबालिकाहरुले आफ्नो भविष्य निर्माण गर्छन् । 
बालबालिकाले पहिले आफ्नो घर र त्यसपछि विद्यालयबाट सिक्छन् । घरपरिवार र शिक्षक,शिक्षिकाबाट जे सिक्छन्,जिन्दगीमा त्यही नै अनुशरण गर्छन् । बालबालिकाका लागि बुवा,आमा जति आवश्यक हुन्छन्, त्यति नै शिक्षक पनि हुन्छन् । 
हामी गुरुलाई भगवानको नाम दिन्छौँ, गुरुपूर्णिमाका दिन सम्मान गर्दै गुरुदक्षिणा दिन्छौं । आफूलाई नआएको कुरा गुरुलाई सोध्छौँ तर पछिल्लो समय विद्यार्थीहरु शिक्षकको नजिक जानै डराउन थालेका छन् । 
ग्रामीण भेग होस् या शहरमा खासगरी चेलीबेटीहरु गुरुबाटै पीडित भइरहेका छन् । गुरु भनी पूजा गरिने शिक्षकहरु विद्यार्थीको इज्जत लुट्नमा सँलग्न छन् । गुरु एवं शिक्षकहरु विद्यार्थीलाई नराम्रो काम नगर्नु भनेर सिकाउँछन् तर आफै बलात्कारजस्ता काण्डमा मुछिइरहेका छन् । 
विद्यार्थीलाई पढाउने नाममा जथाभावी हुने,घरमा पढाउन बोलाउने तर बलात्कार गर्ने र पछि दबाब दिई चुप बस्न लगाउनेजस्ता घटनाहरु प्रत्येक दिन बढिरहेका छन् । 
विद्यार्थीको उज्वल भविष्यका लागि जति एउटा विद्यार्थीले मेहनत गरेको हुन्छ,त्योभन्दा बढी परिश्रम शिक्षक,शिक्षिकाहरुले गरेका हुन्छन् । तर यस्ता काण्ड वा घटनाले शिक्षण पेशा एवं शिक्षककै छवि धुमिल भैरहेको छ । 

केही महिनाअघि अर्घाखाँचीमा २७ वर्षीय शिक्षकले१५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको समाचार आयो । यता,बैतडीको एक विद्यालयका दुई शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लाग्यो । 
त्यस्तै,गत जेठमा राजधानीको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुले पनि शिक्षकबाट बलात्कृत भएको भन्दै आन्दोलन चर्काए । यता,काभ्रेको श्री बेथानचोक आधारभूत विद्यालयमा केही दिनअघि यस्तै घटना सार्वजनिक हुन पुग्यो । 

हजुर बुबा समानका शिक्षकहरुबाट नाबालक बालिकाहरु पीडित हुन पुगे । शिक्षकहरुले पढाउने नाममा विद्यार्थीको शरीरमा जथाभावी छुने वा दुर्व्यवहार गर्ने गरेको ती विद्यार्थीहरुको आरोप थियो । तर यता आफूले नराम्रो नियतले केही नगरेको आरोपित शिक्षकहरुको भनाइ छ । 
पछिल्लो समय बालिकाहरु आफूलाई ज्ञान दिने गुरुबाटै  बलात्कृत भइरहेका छन् । यता,आफू बलात्कार भएको कुरा सुनाउँदा समाजले मलाई के भन्ला,घरपरिवारले के गर्ला,भविष्य कुन बाटोतिर जाला भन्ने त्रासले महिलाहरु चुप बस्छन् त उता,ती पीडकहरु झन हौसिरहन्छन् । 
विभिन्न संघसंस्था एवं व्यक्तिहरुले लैगिंक हिंसा तथा बलात्कारविरुध्द विभिन्न अभियान शुरु गरेतापनि बलात्कारका घटना घट्नुको साटो झनझन् बढिरहेका छन् । अहिले त आफ्नै बुबाबाट पनि छोरीहरु पीडित भएका घटना थुप्रै छन् । 
मानव अधिकारकर्मी एवं महिला अधिकारकर्मी जस्मिन ओझाले, पछिल्लो समय बलात्कारका घटना दिनप्रति दिन बढ्नुको कारण महिलालाई दबाइनु रहेको बताइन् । 
उनले भनिन्-जब एउटी महिला बलात्कृत हुन्छिन्,तब उनलाई आफ्नै घर परिवारबाट दबाइन्छ । यतिसम्म कि तेरो बिहे हुँदैन,समाजमा मुख देखाउन नायक रहँदैन,कसैले बिहे गर्दैन भन्दै उसलाई पटकपटक दबाब दिइन्छ । पीडक झन् त्यो महिला दबिएको देख्दा शोषण गर्न खोज्छ । 

‘जबसम्म हाम्रा पुराना नीतिनियम, कानुन र शिक्षामा परिवर्तन आउन सक्दैन,तबसम्म बलात्कार पनि नियन्त्रण हुन सक्दैन’।उनले भनिन् , ‘प्रत्येक दिन मकहाँ यसरी नै घरपरिवार र समाजबाट हेलित भएका र बलात्कारमा परेका कम्तिमा ५ जना महिला आउने गरेका छन् ।

टिप्पणीहरू