विमानस्थलमा पार्किङ शुल्क चर्को भन्दै विरोध

विमानस्थलमा पार्किङ शुल्क चर्को भन्दै विरोध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सीलगायत सार्वजनिक यातायात व्यवसायीले आपत्ति जनाएका छन् ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल मीटर टयाक्सी सेवा प्रालिले विमानस्थलको चर्को पार्किङ शुल्कप्रति सरोकारवाला र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । 

उनीहरुले पटकपटक बृध्दि गरी प्रति घण्टा ८० पार्किङ शुल्क असुल्ने कार्य तत्काल संशोधन र व्यवहारिक शुल्क निर्धारण,सम्बन्धित निकाय र आइएमएसले गरेको सम्झौता शर्त सार्वजनिक र टयाक्सीको पार्किङ शुल्क टिप गरेको आधारमा निर्धारण गर्न माग गरेका छन् । 

आईएमएस कम्पनीले सम्बन्धित निकायसँग छलफल नगरी पार्किङ शुल्क चार सय प्रतिशतले बढाउँदा यसको मार व्यवसायीको साथसाथै यात्रुमा समेत परेको उनीहरुको ठहर छ ।  चर्को पार्किङ शुल्कबारे सम्बन्धित निकायका साथसाथै आइएमएस प्रालिलाई पनि बारम्बार मागपत्रसहित छलफलको अनुरोध गर्दा उल्टै धम्कीपूर्ण व्यवहार गरिएको,सबै जिम्मा टिआईएको हो भनी जिम्मेवारी नलिएको र छलफलको वातावरण पनि नमिलाएको उनीहरुको आरोप छ । 

त्यसैले, ट्रेड युनियन संघ संगठन र व्यवसायीहरुवीच वार्ता र छलफलको माध्यमबाट समस्या समाधानका निम्ति पहल गरिदिन आग्रह गरिएको छ ।  साथै, "तत्काल माग पुरा नभए आन्दोलन सिर्जना हुने र यसको जिम्मेवार सम्बन्धित निकाय हुने पनि जानकारी गराइएको छ ।  

“स्वदेशी र विदेशी पर्यटकहरुलाई टयाक्सीलगायत यातायातको माध्यमबाट गुणस्तरीय,सहज, सर्वसुलभ सेवा दिइरहेको र पूर्ण क्रियाशील एवं जिम्मेवारीपूर्वक काम गरिरहेको बताउँदै राज्यको नियम कानुनीको धज्जी उडाउँदै चर्को पार्किङ शुल्क असुल उपर गरिरहेको छ” पत्रमा उल्लेख गरिएको छ ।

टिप्पणीहरू