वैभवले रोजेको वैंशालु बन्धन

वैभवले रोजेको वैंशालु बन्धन

अमेरिकाको ३५ औं राष्ट्रपति जो युवावस्थामै मारिए, जोन एफ. केनेडी रंगीला स्वभावका त थिए नै यो मामिलामा उनकी पत्नी ज्याकलिन पनि कम थिइनन् । बिहेअघि र पछि धेरै जना पुरुषसित सम्बन्ध राखेकी ज्याकलिन खण्डित परिवारकी छोरी थिइन् । बुबा जान वर्ने बोभियर धनी परिवारका थिए भने आमा जेनेट ली मध्यम वर्गकी । स्वभावले कठोर । फरक वर्ग र स्वभावका कारण छिट्टै दुबैमा मेल भएन र अलग्गिए । जेनेट दुई छोरी ज्याकलिन र क्यारोलिनको साथमा अलग्गै रहन थालिन् । केही समयपश्चात् धनी तर बूढो ह्युग डुडले अकिनक्लोससँग दोश्रो बिहे गरिन् । सन् १९४२ मा जेनेटसँग बिहे गर्दा ह्युग ४५ वर्षीय थिए भने यो उनको तेस्रो बिहे थियो । जेनेट फेरि २ सन्तानको आमा बनिन् ।

ज्याकलिनका आफ्नै बाबु र सौतेनी बाबु दुवैजना धनी थिए । त्यसैले उनीहरुको बाल्यकाल सुखद रह्यो । ज्याकलिनको रूप र पढाइ राम्रो थियो तर बानीब्यहोरा र मिजास गतिलो थिएन । अक्सर स्कूलले जेनेटलाई बोलाएर छोरीको गुनासो सुनाउँथ्यो । ज्याकलिनको सम्बन्ध आमाभन्दा बुबा जानसँग राम्रो थियो । जेनेटबाट अलग भएपछि आजीवन अविवाहित बसेको कारण ज्याकलिन आमाभन्दा जानलाई असल ठान्थिन् । जान पनि छोरीलाई धेरै माया गर्थे । उता जेनेट पनि आफ्ना पछिल्ला सन्तान हुर्काउनमै बढी ध्यान केन्द्रित गर्न थालेकाले जान ज्याकलिनको लागि ‘हिरो’ बने । यद्यपि, उनलाई थाहा थियो जान पनि सदाचारी हैनन् । जान र जेनेट हनिमुन मनाउन हिँडेको बखत पानीजहाजमै जान अर्की युवतीसँग सुत्न गएको प्रसंग जेनेटले सुनाएकी थिइन् ।

आमाको मुखबाट यो कुरा सुनिसकेपछि पनि उनलाई पिता जानप्रति क्रोध जागेन बरू आमाले उचित सजायँ पाएकोमा खुशी नै भइन् । ज्याकलिन सधैँ धनी पुरुषसित प्रेम र बिहे गर्न चाहन्थिन् । बिहेपछि पनि वैभवपूर्ण जीवनमा कमी नआओस् भन्ने सोच्थिन् । यसैबीच, सन् १९४९ मा फ्रान्समा पढन गइन् । पेरिसको स्मिथ कलेजमा पढ्थिन् र दैनिकजस्तै साँझ नजिकको रित्ज होटल पुगेर बारमा बसी मदिरा र चुरोट सेवन गर्थिन् । उक्त होटल लेखक, साहित्यकार, कलाकार, चित्रकारहरूको जमघटस्थल थियो । त्यहाँ फ्रान्सिसी उपन्यासकार आन्द्रे मालरक्स पनि नियमित छिर्थे । नियमित भेटघाटले २० वर्षीया ज्याकलिन ४८ वर्षीय आन्द्रेप्रति पागलसरह मरिमेट्न थालिन्। तर, गर्भवती बन्ने डरले सँगै सुत्न भने चाहिनन् । पछि उनी भन्थिन्, ‘आन्द्रे त्यस्तो एक्लो फ्रेञ्च पुरुष हुन्, जोसित मैले जिन्दगी गुजार्ने सपना देख्न थालेकी थिएँ ।’

सोही होटलको बारमा बसेर ज्याकलिन उर्फ ज्याकीले फट्यांग्र्रा खान्थिन्, मन पर्ने भोड्का र ककटेल पिउँथिन् । प्रायः उनलाई ख्वाउने र पिलाउनमा फ्रान्सिसी साहित्यकार तथा पुलित्जर पुरस्कार बिजेता जोहन मार्कण्ड सिनियरका पुत्र तथा व्यापारी जोहन पी. मार्कण्ड अघि सर्थे । एकरात, भोड्काले मदमस्त भइसकेपछि ज्याकी मार्कण्डसँगै होटलबाट बाहिरिइन् र उनैको घर गइन् । ज्याकीका जीवनी लेखक एड क्लेनका अनुसार होटलबाट निस्केको बखत ज्याकीको दुबै हात मार्कण्डको गर्धनमा थियो भने मार्कण्डको एउटा हात ज्याकीको कम्मरमा र अर्को हात स्तनमा थियो । उनै क्लेनका अनुसार त्यो रात ज्याकीले नशाको बेहोशीमा पहिलोपटक आफ्नो कौमार्य गुमाइन् । त्यो दिनपछि दुबै सँगै घुम्न थाले । यहाँसम्म कि कलेजले बिदाको समय युरोपको विभिन्न ठाउँमा घुम्न गए । सम्बन्ध घनिष्ट बन्दै गएपछि ज्याकीकी आमा जेनेटले आपत्ति जनाइन् । उनको भनाइ थियो– अक्सर लेखकहरू चर्चका मुसाहरूजत्तिकै असहाय र निर्धन हुन्छन् । उनी आफ्ना छोरीहरूले धनी युवक रोजुन् भन्ने चाहन्थिन् । मार्कण्डसितको सम्बन्ध ज्याकी स्वदेश नफर्कुन्जेलसम्म कायम रह्यो । ज्याकीका गफाडी साथी ट्रुमान क्यापोटका अनुसार पेरिस बसाइमा उनले कम्तीमा ५ जना पुरुषसँग यौन सम्बन्ध राखिन् । युवकहरूलाई एकपछि अर्को वाचा गर्थिन् तर पूरा गर्दिनथिन् ।

सन् १९५१ मा २२ वर्षीया ज्याकी र १८ वर्षिया बहिनी क्यारोलिन लि युरोप घुम्न निस्के । भ्रमणभरि दुवै दिदीबहिनी पुरुषहरूकै घेरामा बसे । पानीजहाजको यात्रामा पनि हरेक साँझ पुरुषहरूसँग नाच्थे र रमाइलो गर्थे । पेरिस, म्याड्रिड, रोम र भेनिसमा हरेक साँझ पार्टीमा सामेल भए । स्वदेश फर्केलगत्तै जोन हस्टेडसँग इन्गेजमेन्ट भयो । शेयरको दलाली गर्ने हस्टेडसँग उनको पहिलो भेट न्यूयोर्कको भासरमा भएको थियो । हस्टेड परिवारसँग ज्याकीका पिता जान र सौतेनी पिता ह्युग दुवैको राम्रो सम्बन्ध थियो । केही समयको प्रेमालापपश्चात् दुबैले सन् १९५२ को जुनमा बिहे गर्ने तयसमेत गरे तर इन्गेजमेन्ट पार्टीको दौरान जेनेटले हस्टेडको वार्षिक आम्दानी १७ हजार डलर मात्र भएको थाहा पाइन् ।

ज्याकीले कसले भन्यो यो कुरो ? भनेर आमासित सोधिन् । जेनेटले ‘हैन भने तिमी नै भन त कति छ, उसको आम्दानी ?? भनेर छोरीसँग बहस गर्न थालिन् । आमाको कुरा सुनेपछि ज्याकीलाई पनि हस्टेडले आफूलाई खुशी राख्न सक्ने छैनन् कि जस्तो लाग्न थाल्यो । यसको केही दिनपछि नै उनले साथीहरूलाई भनिन्– उनी अलि अपरिपक्व र बोरिङखाले छन् । नभन्दै हस्टेड न्यूयोर्क फर्कने दिनमा ज्याकी बिदाइ गर्न विमानस्थल पुगिन् । इन्गेजमेन्टको औंठी फुकालेर खुसुक्क हस्टेडको ज्याकेटको खल्तीमा हाल्दिइन् । ज्याकीको व्यवहारबाट हस्टेड अचम्ममा परे । सम्बन्ध टुटेकोमा दुःखी हुँदै न्यूयोर्क फर्के ।

सन् १९५२ को मेमा आयोजित एउटा रात्रिभोजमा ज्याकी र प्रतिनिधिसभाका सदस्य जोन एफ केनेडीको भेट भयो । ज्याकीले फोटोपत्रकारिता गर्दै थिइन् भने केनेडीले पनि सन् १९४५ देखि नै राजनीतिसँगै पत्रकारिता गर्न थालेका थिए । त्यसैले अर्का चर्चित पत्रकार चाल्र्स बार्टलेटले दुबैको परिचय गराइदिए । ज्याकी पहिलो भेटमै केनेडीको ब्यक्तित्व, बुद्धि र धनबाट प्रभावित बनिन् । दुबैले लामो गफ गरे । गफैगफमा केनेडीले आफू एक दिन राष्ट्रपति बनिछाड्ने अठोट व्यक्त गरे । त्योबेला केनेडी म्यासाचुसेट्सबाट सिनेटको चुनाव लड्ने तयारीमा थिए ।

ज्याकीले पनि केनेडी आफ्ना पिताहरूजस्तै उदार, खर्चालु, मस्त र भोगी पुरुष हुन् भन्ने थाहा पाइन् । यो पनि जानिन् कि उनी आफूप्रति बफादार बन्न सक्दैनन् किनभने त्यही बखत पनि केनेडीको अन्य स्त्रीसँग सम्बन्ध थियो । तैपनि बिलाशी, भोगी स्वभाव, वैभव र राजनीतिमार्फत उच्च तहमा पुग्ने लोभले केनेडीप्रति आकर्षित नभै रहन सकिनन् । र, जब सम्पूर्ण केनेडी परिवार जोनलाई राष्ट्रपति बनाउन लागिपरेको थाहा पाइन् स्वभावतः नजिकको सम्बन्ध राख्दै प्रथम महिला बन्ने सपना देख्न थालिन् । दुबैको मेलजोल बढ्न थाल्यो । यसबीच, केनेडी सिनेटर बने । उनको बिहेको प्रस्तावलाई ज्याकीले सहर्ष स्विकारिन् र बिहे सन् १९५३ को सेप्टेम्बर १२ मा भयो । हनिमुन मनाउन मेक्सिको गए ।

ज्याकीको राजनीतिमा किञ्चित रुचि थिएन । उनले त पहिल्यै सपना देखेकी थिइन् कि वैभवको जीवन बिताउने । चाँडोभन्दा चाँडो प्रथम महिला बन्ने । यसबीच सन् १९५५ मा केनेडी गम्भीर बिमार भए । ढाडको हड्डीको अपरेसन भयो । जिन्दगी र मृत्युसँग जुझिरहेको भए पनि उनले न चेतना, न साहस छाडे । बिछ्यौनाबाट उठ्न त के खानलाई चम्चा समाउनसम्म सक्ने अवस्था थिएन तैपनि टिपाएर भए पनि ‘प्रोफाइल इज करेज’ पुस्तक लेख्न भ्याए, जुन पुस्तकले सन् १९५९ मा पुलित्जर पुरस्कार जित्यो । त्यति मात्र हैन अस्पतालमा बसेरै उपराष्ट्रपतिको चुनाव लड्ने घोषणा गरे र त्यसका लागि आवश्यक तयारी पनि थाले । तर, ज्याकी चुनावको प्रचारमा हिँड्न मानिनन् । त्यो बखतसम्म एकपटक पनि मतदान नगरेकी उनको व्यवहार देखेर रुष्ट बनेका केनेडीले नजिक बोलाएर भने, ‘हेर ज्याकी, तिमी चुनावी अभियानमा सरिक हुन चाहन्नौ भने भगवानका लागि गर्भधारण गर ।’

केनेडी परिवार यो चाहँदैन थिए कि लोग्नेको चुनावी अभियानमा सरिक नभएको कारण जनताले पति–पत्नीबीच मनमुटाव रहेको आशंका नगरुन्, र भोट नदिउन् । बरु गर्भवती भइदिएको भए गर्भ बोकेका कारण पत्नी चुनावी अभियानमा सरिक नभएको सन्देश जाओस् । ज्याकीले चुनावमा लाग्नुको साटो साँच्चै गर्भधारण गर्न स्विकारिन् । उनैको कारण केनेडीले टिकट पनि पाएनन् । असफलता र थकाइ मेट्न केनेडी परिवारले युरोप भ्रमणमा जाने योजना बनायो । ज्याकी उनीहरूसँग हिँड्न पनि तयार भइनन् बरु लोग्नेलाई नजान कर गर्न थालिन् । केनेडीले उनको कुरा सुनेनन् र युरोपतर्फ लागे । लोग्नेले आफ्नो कुरा नसुनेकोमा क्रुद्ध उनले सार्वजनिक तवरमै भनिन्, ‘अब मलाई मेरो गर्भप्रति कुनै चासो छैन, गर्भ तुहियोस्, केही छैन ।’

नभन्दै दुई दिनमै गर्भ तुहियो । उनले आफू उक्त मानसिक अवस्थामा पुग्नुको कारण केनेडी भएको टिप्पणी गरिन् । केनेडी त्यो बेला भूमध्यसागरको यात्रामा थिए । समाचारमार्फत यो कुरा थाहा पाए र क्रुद्ध हुँदै स्वदेश फर्के ।
 

टिप्पणीहरू