लैङ्गिक हिंसाविरुद्धको अभियानमा दुई महिलाको हत्या

लैङ्गिक हिंसाविरुद्धको अभियानमा दुई महिलाको हत्या

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान शुरु भएको पहिलो दिन नै दुई जना महिलाको हत्या भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ३५ वर्षीया गीतादेवी रजक मृत अवस्थामा फेला परेकी हुन् । 

उनको शव घरनजिकैको टिनको छाप्रोमा फेला परेको थियो । १५ वर्षअघि बनौला बस्ने हिरालाल रजककी तेस्री श्रीमती बनेर आएकी उनका तीन छोरी र एक छोरा छन् । 

बुवाले नै आमाको हत्या गरेको छोराछोरीको आरोप छ । दुई महिनाअघि गीतालाई उनको श्रीमानले घरबाट निकालेका थिए । 

स्थानीय १७ वर्षीया कञ्चन रजककाअनुसार मंसिर ४ गतेका दिन निर्वाचनको भोलिपल्ट गीताको हात, खुट्टा र टाउकोमा चोट लागेको थियो । 

‘उनी श्रीमानले मरणासन्न हुने गरी कुट्ने गरेको गुनासो गर्थिन्’, कञ्चनले भनिन् । गीता राजविराज नगरपालिका–१ चनौरामा कोठा भाडामा बस्दै आएकी थिइन् । श्रीमती हत्याको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । 

यता, रुपनी गाउँपालिका–२ मा अर्की एक महिला झुण्डिएको अवस्थामा फेला परिन् । आठ महिनाकी गर्भवती २० वर्षीया मन्जुला सदाले विवाह भएको पाँच वर्षपछि सन्तान जन्माउन लागेकी थिइन् । मृतककी आमाले छोरीलाई सासु ससुराले कुटपिट गर्ने गरेको बताइन् । 

खाना नपकाएको निहुँमा झुण्डाएर मारेको उनको आशंका छ । प्रहरीले सासुसहित अन्य चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

टिप्पणीहरू