रुकुम पश्चिममा माओवादीको ‘क्लिन स्वीप’

रुकुम पश्चिममा माओवादीको ‘क्लिन स्वीप’

राजु लामिछाने

एक प्रतिनिधि सभा र दुई प्रदेशसभा रहेको रुकुम पश्चिमका सबै क्षेत्रमा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । 

यहाँबा चौथो पटक हाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका नेता शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई फराकिलो मतले पराजित गर्नुभएको हो । 

मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत ल्याएर विजय हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गर्नुभएको छ । 

स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार पाँच सय ६७, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपककुमार मल्लले सात सय ९६, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले दुई सय आठ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले दुईसय १४  मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले आठ हजार ८१ मत ल्याउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद कुमार शाहले एक हजार ११ मत ल्याउनुभएको छ । 

त्यस्तै, रुकुम पश्चिम प्रदेशसभा २ मा माओवादी केन्द्रकै्र उम्मेदवार राजकुमार शर्माले २० हजार एक सय ६० मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीमगरले आठ हजार ८८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले एक हजार १०७ मत ल्याउनुभएको छ ।

टिप्पणीहरू