सुदूरपश्चिम प्रदेशमा कहाँ कसले बाजी मार्ला ?

सुदूरपश्चिम प्रदेशमा कहाँ कसले बाजी मार्ला ?

सुदूरपश्चिम प्रदेशमा धमाधम मतगणना भइरहेको छ । प्रदेशका १६ निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा देखिएको छ । विभिन्न कोणबाट उम्मेदवार तथा दलीय मतपरिणाम कस्तो आउला भनेर अन्दाज लगाउन थालिएको छ । 

हालसम्म प्रदेशभर तीन जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौं पटक निर्वाचित भएका छन् ।  २०४८ सालदेखि निरन्तर जित्दै आएका देउवाले फराकिलो मतान्तरले आफ्ना प्रतिद्वन्द्वीलाई हराएका छन् । प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित निर्वाचित भएका हुन् । सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका नेता भीम रावलको गृहजिल्लामा नेकपा एकीकृत समाजवादी पार्टीले खाता खोलिसकेको छ । 

अछाम निर्वाचन क्षेत्र नम्बर १ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर विजयी भएका छन् । सत्ता गठबन्धनतर्फका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । 

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का गंगाराम चौधरी २३ हजार १२० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत प्राप्त गरेका छन् । 

यता, कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर र नेकपा एमालेका लेखराज भट्टबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । बलायर १६ हजार ३६९ मतसहित अग्रस्थानमा छन् ।

भट्ट १४ हजार ८७४ मतसहित उनलाई पछ्याइरहेका छन् । यी दुई उम्मेदवारबीच झण्डै दुई हजारको मतान्तर छ । अघिल्लो पटकको चुनावमा नेकपा माओवादी केन्द्रबाट यो क्षेत्रमा भट्ट निर्वाचित भएका थिए ।  माओवादीबाट एमाले प्रवेश गरेकामध्ये टोपबहादुर रायमाझीबाहेक अरु कसैले पनि जित्ने संकेत देखिएको छैन । यसअघिको निर्वाचनमा बलायर डोटीमा पराजित भएका थिए । सत्ता गठबन्धनमा डोटी नेकपा एकीकृत समाजवादीलाई भाग परेपछि बलायर कैलाली झरेका हुन् । 

त्यसैगरी, कैलाली क्षेत्र नम्बर १ मा नाउपाकी रन्जना श्रेष्ठ चौधरी चुनावी मैदानमा छिन् । निवर्तमान संघीय सांसद् रेशम चौधरीकी श्रीमती रन्जनाले फराकिलो मतान्तरका साथ अग्रता लिएकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार रामचरण चौधरीभन्दा पाँच हजारले उनको मत बढी छ । कांग्रेसका रामचरण चौधरीले ६ हजार ७८६ मत प्राप्त गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा पनि नाउपाकै उम्मेदवारले अग्रस्थान लिएका छन् । 

अरुणकुमार चौधरी चार हजार ४८४ मतसहित अगाडि छन् । माओवादीका भगत बडुवाल तीन हजार ८६४ मतसहित दोस्रो स्थानमा छन् । एमालेका झपटबहादुर रावलले दुई हजार ९१२ मत प्राप्त गरेका छन् ।  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

एमालेका नारदमुनि राना,कांग्रेसका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाबीच कडा टक्कर हुने आकंलन लगाइएको थियो । स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथलाई कडा उम्मेदवारका रुपमा हेरिएको थियो ।  तर, मतगणना हुँदै गर्दा पुष्करनाथ सबैभन्दा पछाडि छन् । एमालेका नारदमुनि दुई हजार ८६२ मतसहित पहिलो स्थानमा छन् । अर्का उम्मेदवार डिल्लीराजले दुई हजार ५९५ मतसहित उनलाई पछ्याइरहेका छन् । 

झिनो मतान्तरले अघि पछि रहेका यी दुई जनामा कसले बाजी हात पार्ला ? ठोकुवा गर्न सक्ने अवस्था छैन । माछा चुनाव चिन्ह भएका पुष्करनाथले सोचेअनुरुप मत ल्याउन सकेनन् । एक हजार १९४ मतसहित उनी दौडमा छन् ।  यस्तै, प्रदेश सभा ५ ‘ख’ बाट सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार प्रकाश देउवा अग्रस्थानमा छन् । उनले एक हजार ५१८ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका दुर्गा भण्डारीले ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ६७५ मत ल्याएका छन् ।

टिप्पणीहरू